काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले हाल नेपालीहरूले दैनिक आवश्यकताभन्दा धेरै नुन सेवन गर्न थालेको बताएका छन्। उनका अनुसार, एक व्यक्तिले दैनिक ५ ग्राम मात्र नुन खानु उपयुक्त भए पनि अहिले २० ग्रामसम्म नुनको सेवन भइरहेको छ, जसका कारण विभिन्न स्वास्थ्य समस्या बढ्दै गएका छन्।
सोमबार नेपाल प्रेस सोसाइटीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महर्जनले अत्यधिक नुनको सेवनले शरीरलाई रोगहरूको घर बनाइरहेको बताए। उनले भने, “धेरै नुनले हाम्रो ज्यान गयो, शरीर रोग उत्पादनको घर बन्ने भयो, थाइराइडले समात्यो भनेर हिजोआज यस्तै यस्तै कुरा सुन्ने गरेको छु।"
महर्जनका अनुसार, जनचेतनाको अभावकै कारण आम मानिसले आवश्यकता भन्दा धेरै नुन खाइरहेका छन्। यस विषयमा सचेतना अभिवृद्धि गर्न साल्ट ट्रेडिङ्गले थप जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताए।
महर्जनले साल्ट ट्रेडिङ्गको नुन शुद्ध रहेको दाबी गर्दै भने, “आयोडिन भनेको सूक्ष्म पोषण तत्व हो, जुन शरीरका लागि अत्यावश्यक छ। यसको अभावले मानसिक विकारको समस्या देखिन सक्छ।”
कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका प्रमुख रामप्रसाद कुस्मा, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रतिनिधि यादव मिश्र, साल्ट ट्रेडिङ्ग कर्पोरेशनका प्रतिनिधि तुलेश्वर शाह, भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधि गणेश हरि प्रजापति र नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले आयोडिनयुक्त नुनका फाइदा र यसका प्रभावबारे जानकारी गराएका थिए।
नुनको अत्यधिक सेवन रोक्न सचेतना अभियान आवश्यक, विशेषज्ञहरूका अनुसार, अत्यधिक नुनको सेवनले उच्च रक्तचाप, मुटुरोग, मृगौला रोग तथा थाइराइडसम्बन्धी समस्या निम्त्याउन सक्छ। नेपालमा औसत मानिसहरूले आवश्यकताभन्दा चार गुणा बढी नुन सेवन गरिरहेको तथ्यांकले देखाउँछ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले गरेका थिए। सहभागीहरूले आम उपभोक्तालाई नुनको प्रयोग सन्तुलित बनाउनका लागि व्यापक जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए।