काठमाडौँ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा घरमा प्रसूति हुनेको सङ्ख्या शून्यमा झरेको छ।
घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान जोखिममा पर्नुका साथै विभिन्न समस्या देखिने गरेकाले पालिकाले स्वास्थ्य संस्थामै प्रसूति गराउने अभियान सुरू गरेको थियो।
प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन सुरू गरिएको अभियान सफल भएको र घरमा प्रसूति हुनेको सङ्ख्या शून्य बनाइएको स्वास्थ्य शाखाले जनाएको छ। शाखाका अनुसार अन्नपूर्णका सबै गर्भवतीहरूले पछिल्लो एक वर्षयता स्वास्थ्य संस्थामा पुगेर दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएका छन्। पालिकाले घरमा प्रसूति हुनेको सङ्ख्या शून्यमा झारेको र यसलाई कायम राख्नका लागि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।
आर्थिक वर्ष २०८०/८१ मा शतप्रतिशत ९१ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन्। आ.व. २०७९/८० मा एक सय ३९ मध्ये एक सय ३५ जनाले संस्थागत प्रसूति सेवा लिँदा एक जनाले मात्र घरमा र चार जनाले मृत बच्चा जन्माएका थिए। आ.व. २०७८/७९ मा पालिकामा १ सय २७ जनाले संस्थागत प्रसूति सेवा लिएका थिए।
घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउनका लागि पालिकाले ‘आमासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरेको छ। तोकिएको समयमा नियमित गर्भ परीक्षण र संस्थागत प्रसूति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउन, स्वास्थ्य र पोषण सुधार गर्न कार्यक्रम प्रभावकारी बनेको पालिकाले जानकारी दिएको छ।
गर्भवती र सुत्केरीलाई अण्डा, भाले, घ्यू, सर्वोत्तम पिठो र न्यानो कपडा वितरणका लागि गत आ.व.मा आमासँग जनप्रतिनिधि कार्यक्रमका लागि रू ७ लाख बजेट विनियोजन भएको थियो भने यस वर्ष उक्त कार्यक्रमलाई रू ४ लाखसहित स्वास्थ्यसम्बन्धी कार्यक्रममा रू ९१ लाख विनियोजन भएको छ।
तोकिएको मितिमा चार पटक गर्भ परीक्षण गर्दा हरेक पटक एक/एक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरमै पुगेर एउटा कुखुराको भाले र आधा लिटर घ्यू दिने गरिएको छ। सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा, एक किलोग्राम सर्वोत्तम पिठो र बच्चालाई न्यानो कपडा दिने गरिएको छ।
उपहार दिन थालिएपछि गर्भ परीक्षण गराउने र संस्थागत प्रसूति सेवा लिने दर शतप्रतिशत भएको हो।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar