हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सिन्धुपाल्चोकमा कृषक लक्षित बीमा सचेतना कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड, चौतारा शाखाको आयोजनामा असार ५ गते सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–४ स्थित कुविण्डेमा निर्जीवन बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

कुविण्डे दुग्ध संकलन केन्द्रमा आवद्ध करिब २० जना स्थानीय कृषकहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा निर्जीवन बीमाको महत्व, आवश्यक प्रयोग, लाभ र स्थानीय तहमा उपलब्ध बीमालेखहरूको विषयमा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमको उद्देश्य ग्रामीण तथा कृषक समुदायलाई बीमाप्रति सचेत बनाउँदै उनीहरूको जीवनस्तर सुधारमा टेवा पुर्याउने र जोखिम व्यवस्थापनमा पहुँच सुलभ बनाउने रहेको कम्पनीले जनाएको छ।

कार्यक्रममा कुविण्डे दुग्ध कृषि सहकारीका अध्यक्ष प्रेमप्रसाद सापकोटाले कृषकहरूको दैनिकी र कृषि पेसामा आउने अनिश्चित जोखिमलाई न्यूनीकरण गर्न बीमाको पहुँच र प्रभावकारीता अपरिहार्य रहेको बताउँदै बीमा कम्पनीहरूले दावी प्रक्रिया सरल, छरितो र किसानमैत्री बनाउन ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले यस्ता कार्यक्रमहरू भविष्यमा अन्य स्थानीय तहमा समेत सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार र बीमा शिक्षाको अभाव हटाउन निरन्तर योगदान गर्दै जाने योजना अघि सारेको छ।

प्रतिक्रिया