अमेरिकामा नेपाललाई 'साहसिक पर्यटन राजधानी' को रूपमा प्रवर्द्धन

काठमाडौं । अमेरिकी बजारमा नेपाललाई 'साहसिक पर्यटन राजधानी' को रूपमा प्रवर्द्धन गरिएको छ। अमेरिकाको कोलोराडो राज्यको डेनभर सहरमा मार्च ८ र ९ मा सम्पन्न 'ट्राभल एण्ड एड्‌भेन्चर शो-२०२५' मा नेपाल पर्यटन बोर्डले नेपाललाई विश्वकै प्रमुख साहसिक पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गरेको हो।

नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य ऋषिराम भण्डारी र कार्यकारी निर्देशकले उक्त कार्यक्रममा नेपालको समृद्ध पर्यटकीय क्षेत्र, विविध गतिविधि, र सुरक्षा उपायबारे जानकारी गराउँदै अमेरिकी पर्यटन व्यवसायीहरूलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गरेका थिए।

अमेरिकी नागरिकलाई सगरमाथा आधारशिविर यात्राको अवसर

नेपाल पर्यटन बोर्डले कार्यक्रममा सहभागी पर्यटन व्यवसायीहरूमध्येबाट लक्की ड्रमार्फत एक जनालाई सगरमाथा आधारशिविरसम्मको पदयात्रा निःशुल्क गराउने घोषणा गरेको थियो। उक्त लक्की ड्र अमेरिकी पर्यटन व्यवसायी उपला सेफर्टले जितेकी छन्। उनले मार्चदेखि मे महिनाभित्र नेपाल भ्रमण गरिसक्नुपर्नेछ, जसका लागि सम्पूर्ण खर्च नेपाल पर्यटन बोर्डले व्यहोर्ने जनाएको छ।

नेपाललाई 'साहसिक यात्राको राजधानी' का रूपमा मान्यता

'ट्राभल एण्ड एड्‌भेन्चर शो-२०२५' को आधिकारिक वेबसाइटमा नेपाललाई 'साहसिक यात्राको राजधानी' का रूपमा उल्लेख गरिएको छ। सोही अनुसार, नेपालमा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा शिखरमध्ये ८ वटा पर्नुका साथै पर्वतारोहण, पदयात्रा, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्पिङ, जिप-लाइनिङ, र जंगल सफारी जस्ता गतिविधिहरू लोकप्रिय रहेको उल्लेख छ।

अमेरिकी बजारलाई लक्षित गर्दै नेपाल पर्यटन बोर्डको प्रवर्द्धन अभियान

कोरोना महामारीपछि नेपालमा पर्यटन पुनरुत्थान गर्न नेपाल पर्यटन बोर्डले विभिन्न मुलुकहरूमा प्रवर्द्धनात्मक गतिविधिहरूलाई तीव्रता दिँदै आएको छ। यसै क्रममा आयोजित 'ट्राभल एण्ड एड्‌भेन्चर शो-२०२५' मा नेपालका ९ वटा निजी पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो। साथै, नेपालले आयोजना गरेको विशेष कार्यक्रममा ५५ वटा अमेरिकी टुर अपरेटर कम्पनीका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

नेपाल पर्यटन बोर्डले यस कार्यक्रमबाट अमेरिकी बजारमा नेपालको पर्यटन प्रवर्द्धन र विस्तारमा महत्वपूर्ण फाइदा पुग्ने विश्वास लिएको छ।

प्रतिक्रिया