बुढानीलकण्ठ नगरपालिकाको चौथो रोजगार तथा वृत्ति मेला फागुन २ र ३ गते आयोजना हुने

काठमाडौँ  । बुढानीलकण्ठ नगरपालिकाले २०७८ सालदेखि निरन्तर रुपमा आयोजना गर्दै आएको रोजगार तथा वृत्ति मेला यस वर्ष फागुन २ र ३ गते आयोजना हुने भएको छ। "शिक्षा, सिप र उद्यमशीलता; रोजगारी हाम्रो प्राथमिकता" भन्ने नारासहित आयोजना हुन लागेको चौथो वृत्ति मेलामा युवा रोजगारीलाई विशेष प्राथमिकता दिइएको छ।

यसअघि आयोजित तीनवटै मेलामा रोजगारी तथा वृत्ति परामर्श, बेरोजगार युवाको तथ्यांक संकलन, आवश्यक तालिमको पहिचान जस्ता गतिविधिहरू सञ्चालन गरिएका थिए। तथ्यांक संकलनका आधारमा २० जनाले १० महिने प्लम्बरिङ तालिम, ६० जनाले कुकिङ तालिम, ४० जनाले कम्प्युटर हार्डवेयर तालिम प्राप्त गरेका थिए। त्यस्तै, १२ वटै सामुदायिक विद्यालयमा वृत्ति परामर्श कार्यक्रम सञ्चालन गरिएको थियो।

रोजगारदाता र बेरोजगार युवाबीच सम्पर्क स्थापना गर्न अनलाइन प्लेटफर्म सञ्चालन गरिएको छ भने शिक्षक आपूर्तिलाई सहज बनाउन शिक्षक बैंक निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ। विगतका मेलाहरूमा विद्यार्थी, युवा, र गृहणी महिलाहरूको उल्लेखनीय सहभागिता रहेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले यसपटकको वृत्ति मेला अझ प्रभावकारी बनाउन नगर प्रमुख मिठाराम अधिकारी संयोजक र उपप्रमुख अनिता लामा सहसंयोजक रहने गरी मुख्य आयोजक समिति गठन गरेको छ। साथै, नगर उद्योग वाणिज्य संघ, सामुदायिक तथा संस्थागत विद्यालयहरू समेतलाई समावेश गरी निजी क्षेत्रलाई पनि सक्रिय सहभागिताका लागि प्रोत्साहित गरिएको छ।

यस मेलामा ४२ वटा स्टल रहनेछन्, जसमा:

२० वटा रोजगारदाता कम्पनीहरू,

६ वटा शिक्षा, सिप तथा तालिम प्रदायक संस्थाहरू,

३ वटा युवा उद्यम प्रवर्द्धक स्टलहरू,

७ वटा रमाइलो गतिविधि प्रवर्द्धक स्टलहरू,

६ वटा विविध विषयका स्टलहरू रहनेछन्।

मेलामा २५ हजारभन्दा बढी गृहणी महिला, युवा तथा विद्यार्थीहरू सहभागी हुने अनुमान गरिएको छ भने मेलाका क्रममा थुप्रै बेरोजगार युवाले रोजगारी प्राप्त गर्ने विश्वास नगरपालिकाले लिएको छ।

बेरोजगार युवाका लागि विशेष अवसर

यस वर्ष पनि नगरपालिकाले बेरोजगार युवाको तथ्यांक संकलनलाई निरन्तरता दिएको छ। १६ देखि ४० वर्ष उमेर समूहका बेरोजगार युवाहरू माघ मसान्तभित्र अनलाइन वा वडा कार्यालय पुगेर फर्म भर्न सक्नेछन्।

नगरपालिकाले मेलामा १० हजार व्यावसायिक फर्महरूलाई आमन्त्रण गरेको छ। मेलाको अवधिमा कम्तीमा:

१०० जनालाई रोजगारी,

२०० जनालाई इन्टर्नशिप,

१५० जनालाई साइकोमेट्रिक टेस्ट,

उद्योग प्रशिक्षार्थी स्किल कम्पिटिसन,

विद्यार्थीका अभिभावकलाई विशेष जानकारी दिने कार्यक्रम आयोजना गरिनेछ।

बुढानीलकण्ठ नगरपालिकाले चौथो रोजगार तथा वृत्ति मेलालाई स्थानीय युवालाई दिगो रोजगारीसँग जोड्ने सुनौलो अवसर का रूपमा लिएको छ। नगरपालिकाले युवालाई दक्ष बनाएर स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यक्रमलाई अझ प्रभावकारी बनाउने जनाएको छ।


प्रतिक्रिया