काठमाडौँ । १३ जनवरी - २०२५ छैठौं संस्करणको स्किल वीक २०२५ सोमबार द सोल्टी होटेलमा भव्य समारोहका साथ सम्पन्न भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय श्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उद्यमी, सरकारी कूटनीतिज्ञ, र १०० भन्दा बढी उत्साहीहरूको सहभागिता रहेको थियो।
जनवरी ६ देखि १३ सम्म चलेको यो एक हप्ते कार्यक्रम सिपमूलक तालिम, कार्यशाला, केस स्टडी, र मनोरञ्जनात्मक गतिविधिहरू मार्फत सिपको महत्व उजागर गर्ने उद्देश्यले आयोजना गरिएको थियो। कला-संस्कृति, उद्यमशीलता, पर्यटन-आतिथ्य, र विज्ञान-प्रविधि क्षेत्रलाई प्रतिनिधित्व गर्ने चार अलग क्षेत्रहरूमा कार्यक्रम केन्द्रित रहेको थियो।
स्किल वीक २०२५ को मुख्य आकर्षणका रूपमा चार क्षेत्रका व्यक्तित्वलाई “स्किल हीरो अवार्ड २०२५” द्वारा सम्मान गरिएको छ।
कला र संस्कृति: नेपाली समकालीन संगीतका प्रसिद्ध गायक तथा गीतकार सुशान्त केसीलाई सम्मान गरिएको छ। उनका सुमधुर संगीत र अर्थपूर्ण गीतहरूले नेपाली र अन्तर्राष्ट्रिय श्रोताहरूको मन जित्न सफल भएका छन्। “आमा” गीतले आमाको माया र सम्बन्धलाई झल्काउँदै लाखौँ श्रोताको मन छोएको छ।
उद्यमशीलता: खालिसिसी म्यानेजमेन्टकी संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आयुषी केसीलाई सामाजिक उद्यमशीलतामा पुर्याएको योगदानका लागि सम्मान गरियो। फोहोर व्यवस्थापनमा नयाँ दृष्टिकोण ल्याउँदै उनले नेपालभर १३,००० भन्दा बढी “खालिसिसी फ्रेन्ड्स” को सञ्जाल निर्माण गर्न सफल भएकी छन्।
पर्यटन तथा आतिथ्य: सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टका संस्थापक समीर थापालाई आतिथ्य क्षेत्रको सुधार र शिक्षामा पुर्याएको योगदानका लागि पुरस्कृत गरियो। नेपालमा पहिलो अन्तर्राष्ट्रिय फास्ट–फुड फ्रान्चाइजी र आधुनिक आतिथ्य शिक्षाको सुरुवात गरेर उनले यो क्षेत्रमा क्रान्ति ल्याएका छन्।
विज्ञान तथा प्रविधि: सानुकाजी श्रेष्ठलाई दिगो प्रविधिमा पुर्याएको योगदानका लागि सम्मानित गरियो। उनले दिगो ऊर्जा प्रविधि र नवप्रवर्तनलाई अघि बढाउँदै नेपाललाई हरित प्रविधिमा नयाँ सम्भावना देखाउन सफल भएका छन्।
समापन समारोहको अवसरमा “सीईओ अनप्लग्ड २०२५” कार्यक्रम समेत आयोजना गरिएको थियो। “Sustainable Future: Skills, Education and Green Economy” शीर्षकमा प्यानल छलफल गरिएको उक्त कार्यक्रममा उद्योगका चुनौती र अवसरबारे गहन चर्चा भएको थियो।
स्किल वीक २०२५ ले सिपयुक्त जनशक्ति विकास, रोजगारीका अवसर सिर्जना, र नेपालको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य राख्दै सफलतापूर्वक समापन गर्यो।