काठमाडौँ। सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्रका रूपमा चिनिएको ‘सुकुटे’ करिडोर वरपर रहेका पर्यटकीय गन्तव्य खोजबिन गर्न सिन्धु–सुकुटे पर्यटन व्यवसायी सङ्घले पदमार्ग अभियान सुरू गरेको छ।
पर्यटन व्यवसायी सङ्घ गठन भएको करिब दुई महिनापछि सुकुटे–ठोकर्पा पदमार्ग अभियान सञ्चालन गरिएको हो।
‘सुकुटे’लाई केन्द्र मानी त्यस आसपास रहेका पर्यटकीय स्थलमा सुकटे आउने पर्यटकलाई पुर्याउने उद्देश्यका साथ पदमार्ग अभियानको सुरूआत गरिएको सङ्घले जनाएको छ। सङ्घका पदाधिकारी, होटल तथा रिसोर्ट सञ्चालकसहितको टोलीले सुकुटे, थामडाँडस्थित भ्यू टावरदेखि ठोकर्पा बाघभैरवसम्मको पैदलयात्रा सम्पन्न गरेको छ।
सुनकोशी गाउँपालिका–१ का वडाध्यक्ष कुमार शाहीका अनुसार उक्त पदमार्गले ठोकर्पास्थित सामुदायिक वन छिचोल्नुपर्छ। अन्तर्राष्ट्रिय वन अध्ययन केन्द्र पदमार्ग सामुदायिक वन हुँँदै थामडाँडासम्म ६ सय मिटर ढुङ्गा कुँदेर पदमार्ग निर्माण गरिएको छ। बन्न बाँकी रहेको तीन किलोमिटर पदमार्ग सामुदायिक जङ्गल हुँदै भ्यु टावरसम्म चाँडै पूरा गर्ने जनाइएको छ।
सुकुटेमा बास बसेर घुम्न आउने पर्यटकलाई ठोकर्पाको मिलडाँडा, बुद्वपार्क, भ्यू टावर हुँदै चमेरो गुफासम्म पुग्न सकिने सिन्धु–सुकुटे पर्यटन व्यवसायी सङ्घका उपाध्यक्ष अञ्जान खड्का बताए। त्यस्तै ठोकर्पामा रहेको सिन्धुपाल्चोक काभ्रे जोड्ने जिल्लाकै सबैभन्दा लामो झोलुङ्गे पुल, तित्रे महाङ्काल मन्दिर, बाघभैरव, भैँसेखोला, अक्करे भिरमा रहेको बोल्ने पहरो, जामुने पहरी बस्ती आदि सो क्षेत्रका पर्यटकीयस्थल रहेका छन्।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar