काठमाडौँ, ३१ असार: नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा पदभार ग्रहण गर्नुभयो। पदभार ग्रहणका क्रममा मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि प्रणालीको सुरक्षित र प्रभावकारी प्रयोग सुनिश्चित गर्न मन्त्रालय सम्बद्ध निकायको कानुनी र संस्थागत पुनःसंरचना गर्ने निर्णय गर्नुभयो।
उहाँले मातहतका कर्मचारीलाई प्रतिफल आउनेगरी क्रियाशील हुन निर्देशन दिँदै भन्नुभयो, “नेतृत्व तहबाट गर्ने सहयोगका लागि म सधैँ तपाइँहरूको साथमा छु। मन्त्रालयले प्रदान गर्ने सेवाको प्रभावकारिताका लागि कानुनी र संस्थागत सुधार गर्न यहाँहरूबाट भरपुर सहयोगको अपेक्षा गरेको छु, सोहीअनुसार आआफ्नो जिम्मेवारी निर्वाह गर्नुहोला।”
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव गुरुङले संविधान निर्माणपछि गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ। उहाँ २०७४ फागुन ४ गतेदेखि २०७८ जेठ २८ गतेसम्म मुख्यमन्त्री रहनुभएको थियो।
विज्ञान विषयमा स्नातक मन्त्री गुरुङले पञ्चायतकालमै २०३४ सालदेखि राजनीति सुरू गर्नुभएको थियो। उहाँ २०२७ सालमा इशानेश्वर प्रमोद हाइस्कुल, भोर्लेटार लमजुङमा अनेरास्ववियुकोतर्फबाट स्ववियु सचिव निर्वाचित हुनुभएको थियो।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत बनिसक्नुभएका गुरुङ प्रतिनिधिसभा निर्वाचन २०७९ मा लमजुङ निर्वाचन क्षेत्र नं १ बाट विजयी हुनुभएको हो।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar