पुष २१, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली चतुर राजनीति गर्न खोज्दा धेरै पटक फसेका छन् । यतिसम्म कि चतुर बन्न खोज्दा उनी सत्ताच्यूत मात्रै भएका छैनन, स्पष्ट बहुमत समेत जोगाउन नसकेको उदाहरण छ । भारतीय अघोषित नाकाबन्दीविरुद्ध करो बोलेर राष्ट्रवादी छवी बनाएका ओली यतिबेला राजतन्त्रविरोधी छवी निर्माणमा केन्द्रित छन् ।
यस्तो अवस्थामा प्रश्न उठ्छ कि के ओली राजनीतिक नयाँ फाइदाका लागि आफूविरुद्धका आरोप मेटाउने प्रयासमा जुटेका हुन् ? हिन्दुत्वको धङ्धङ्गी बोकेको भारतीय सत्ताले नेपालमा संविधान जारी भएपछि मधेसवादी दलहरुको आडमा अघोषित नाकाबन्दी ग¥यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न कारण देखाएर नेपालमा अघोषित नाकाबन्दी गरेपछि नेपालीको जनजीवन अस्तव्यस्त बन्न पुगेको थियो ।
नेपालीको दैनिकी नै खल्बलिएको बेला एमाले अध्यक्ष केपी ओलीले खुलेरै भारतको विरोध गर्न थाले । भारतले नेपालमा नाकाबन्दी गरेर मानवीयताविरोधी काम गरेको भन्दै ओलीले जनतामा जागरण नै फैलाए । त्यसपछि केपी ओली राष्ट्रवादी छवी निर्माण गर्दै राष्ट्रिय राजनीतिमा थप सशक्त बने ।
नाकाबन्दीताका ओलीले खुलेरै भारतले नाकाबन्दी गरेको मात्रै भनेनन्, मधेस केन्द्रित दलहरुमाथि आक्रोश समेत पोखे । मुलुकको आन्तरिक मामलालाई विदेशीसामू लगेको भन्दै आक्रोश पोखेपछि जनताले उनीमाथि राष्ट्रवादी नेताको ट्याग लगाइदिए । राष्ट्रवादी छवीको आडमा प्रचण्ड नेतृत्वको माओवादीसँग चुनावी तालमेल हुँदै झण्डै दुई तिहाईको सरकार निर्माण गरेर बलियो सरकारको नेतृत्व गरेका ओली विस्तारै घेराबन्दीमा परे ।
आफू पहिलो अध्यक्ष भएको भन्दै प्रचण्डलाई डोमिनेट गर्ने गरि अघि बढ्न थालेपछि प्रचण्डले पनि घेराबन्दी शुरु गरे । आधाआधा कार्यकाल प्रधानमन्त्री खाने वचनबाट सहजै पछि हटेका प्रचण्डलाई ओलीले बिच्क्याएपनि कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटेर नक्सा जारी गराएका कारण उनी चर्चामै रहे । चुच्चे नक्साको नामले परिचित नेपाली भूमीमा अहिलेसम्म नेपालको पहुँच स्थापति हुन सकेको त छैन्, तर, यो विषयमा नेपालको संसदले गरेको निर्णय भने अभूतपूर्व सफलता मानिन्छ ।
त्यसपछि संसद विघटनका कारण ओलीको छवी फेरि रसातलमा पुग्न थाल्यो । तर, संसद विघटनलाई ओलीले विभिन्न अर्थमा सहि थाप्दै आएका छन् । यसरी फेरि ओरालो लागेको आफ्नो छवी सुधार्ने मौकाको खोजीमा रहेका ओलीले चुनावी घेराबन्दीलाई प्रचण्डको साथ लिएर तोड्न खोजेपनि सफल हुन सकेनन् ।
तर, उनी फेरि अहिले चर्चामा रहेको राजाको मुद्दामा प्रवेश गरेका छन् । राजतन्त्रको मुद्दामा चर्को बहस चलिरहेको बेला ओलीले फेरि राजाविरुद्ध खनिखेदो गर्न थालेका छन् । लोकतन्त्रको रक्षा जनताबाहेक कसैले गर्न नसक्ने भन्दै ओलीले दृढतापुर्वक लोकतन्त्रको पक्षमा वकालत गर्न थालेका छन् ।
ओलीले राजाविरुद्धको फायर खोल्नुको पछाडी राजावादी जनमतको बढ्दो क्रेजलाई पनि लिइएको छ । कमजोर तर, केहि बढ्दो क्रेजलाई ओलीले निस्तेज पार्न सके आफूमाथि राजावादीको आरोप मेटिने र फेरि राष्ट्रवादी नेताको छवीमा फर्किने अपेक्षा उनीमा देखिन्छ । तर, के ओलीले आफूमाथि लागेको राजावादीको आरोपलाई सहजै पार लगाउन सक्लान् ?
गणतन्त्रलाई सुदृढीकरणमा नजुटी फगत विरोधमा जनताले थपडी बजाउलान् ? प्रश्न थुप्रै छन् । यद्यपी ओलीले फेरि राष्ट्रिय राजनीतिमा समकालीन नेताभन्दा अघि बढ्न राजतन्त्रको विरोध र लोकतन्त्रको पक्ष लिन थालेको भने प्रष्ट देखिन्छ ।
(भिडियो news 24 )