काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कृषि क्षेत्रलाई आधुनिक र व्यवसायिक बनाउनुपर्नेमा जोड दिनुभएको छ।
नेपाल कृषि तथा मेशिनरी व्यवसायी संघको नवौँ वार्षिक साधारण सभामा सम्बोधन गर्दै अध्यक्ष ढकालले कृषिमा अपार सम्भावना भए पनि नेपालले त्यसको उचित लाभ उठाउन नसकेको बताउनुभयो। कृषि उत्पादन वृद्धि गर्न यान्त्रिकरण, आधुनिकिकरण र व्यवसायिकरण आवश्यक रहेको उल्लेख गर्दै उहाँले भने, "नेपालको भूगोल, हावापानीको विविधता, प्राकृतिक स्रोत-साधनलाई उपयोग गर्न सके कृषिमा लाखौँ रोजगारी सिर्जना गर्न सकिन्छ। यसले मुलुकलाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउन मद्दत गर्छ।"
उहाँले देशलाई ‘कृषिप्रधान’ भनिए पनि कृषि क्षेत्रलाई उपेक्षा गरिँदै आएको बताउँदै, आउँदो बजेटमा कृषिलाई प्राथमिकता दिन र कार्यान्वयन योग्य नीति निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो। महासंघले ‘कृषि उद्यम केन्द्र’ मार्फत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै ७७ जिल्लाका १२४ नगर उद्योग वाणिज्य संघहरूसँग समन्वय गरेर कृषि प्रवर्द्धनमा सरकारलाई साथ दिन तयार रहेको जानकारी गराउनुभयो।
महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले कृषिमा सरकारी अनुदानको प्रभावकारी व्यवस्थापन आवश्यक रहेको बताउनुभयो। "अनुदानको व्यवस्था भए पनि यसको दुरुपयोग भइरहेको छ। किसानलाई समयमा मल, बिउ, प्रविधि उपलब्ध गराएर मात्र वास्तविक लाभ लिन सकिन्छ," उहाँले भन्नुभयो।
साधारण सभाको उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि यान्त्रिकीकरणलाई प्राथमिकता दिँदै उत्पादन लागत घटाउने, उत्पादकत्व बढाउने र दीगो कृषि प्रणाली सुनिश्चित गर्ने सरकारी नीति अघि बढिरहेको बताउनुभयो।
मन्त्री अधिकारीले देशमै कृषि उपकरण निर्माण गर्ने पहल गर्न व्यवसायीहरूलाई आग्रह गर्दै भन्नुभयो, सरकार कृषि क्षेत्रमा नवप्रवर्तन (Innovation) र प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्न कटिबद्ध छ।
नेपालमा कृषि क्षेत्रको ठूलो सम्भावना भए पनि त्यसलाई आधुनिक प्रविधि, व्यवसायिक सोच र सही सरकारी नीतिको सहाराले मात्र प्रभावकारी बनाउन सकिन्छ। महासंघ अध्यक्ष ढकालको भनाइ अनुसार यदि कृषि क्षेत्रलाई व्यवसायिक रूपमा रूपान्तरण गरियो भने नेपाल आत्मनिर्भर मात्र होइन, कृषि निर्यातमा समेत अगाडि बढ्न सक्छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar