काठमाडौँ। वीरगञ्ज महानगरपालिकाले घण्टाघरचोकसँगै रहेको विपी उद्यानको अतिक्रमण गरेर बनाएका अस्थायी घर–टहरा हटाउन थालेको छ।
महानगरले दुई पटक सार्वजनिक सूचना जारी गरेर उद्यानमा रहेका अस्थायी घर–टहरा, तरकारी तथा फलफूलको बजार हटाउनको लागि धेरै आग्रह गर्दा पनि नहटाएपछि आइतबारदेखि डोजर लगाएर स्थान खाली गराउन थालेको हो।
दुई पटकसम्म सार्वजनिक सूचना जारी गराउँदा पनि हटाउन आलटाल गरेपछि डोजर लगाएर करिब ४० अस्थायी घर टहरा खाली गराएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ।
आइतबारदेखि अतिक्रमणमा परेको बिपी उद्यान खाली गर्न थालिएको छ र ‘यो अभियान सबै अतिक्रमणमा परेको ठाउँ खाली नगरेसम्म नरोकिने जनाइएको छ।
महानगरका अनुसार बिपी उद्यानमा अस्थायी घरटहरा, तरकारी, फलफूल तथा कपडा पसल, तथा विभिन्न खानाका स्टल गरी करिब २५० भन्दा धेरै अस्थायी रुपमा सञ्चालनमा रहेका छन्। महानगरले उपयुक्त विकल्प दिएर बिपी उद्यान खाली गर्न लागेको जनाएको छ।
महानगरपालिकाले अतिक्रमण गरेको ठाउँलाई खाली गरेर आकर्षक खालको पार्क अघि बढाउने जनाएको छ।
विपी उद्यानमा मासु पसल सञ्चालन गर्दै आइरहेका व्यवासायीहरूले महानगरले आफूहरूलाई हटाएर बिचल्ली बनाएको गुनासो गरेका छन्।
बिपी उद्यानमा दैनिक पाँच–दश केजी बङ्गुरको मासु बेच्दै यसैबाट परिवारको गुजारा टार्दै आइरहेकाले हटाएपछि अब देखी कहाँ के गर्ने भन्ने अन्योल सिर्जना भएको व्यवसायीहरू बताउँछन्।
महानगरले यसअघि गत मङ्सिर २६ गते १५ दिने सार्वजनिक सूचना जारी गरेर बिपी उद्यानमा राखिएका तरकारी तथा फलफूल बजार हटाउनका लागि निर्देशन दिएको थियो। सो म्याद पनि यही पुस १० गते सकिएको थियो।
तर, सो अवधिमा तरकारी तथा फलफूल व्यापारीले बिपी उद्यानको ठाउँ खाली गर्न अटेरी गरेपछि महानगरले दोस्रो पटक पुस १२ गते सात दिने म्याद राखेर सार्वजनिक सूचना जारी गरेको थियो।
दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दा पनि खाली नगरेपछि भने आइतबार एक्साभेटर लगाएर खाली गरेको हो। महानगरले यो ठाउँमा बिपी उद्यानको व्यवस्थित गरेर वीरगञ्ज आउने पर्यटकका लागि नयाँ आकर्षणको केन्द्र बनाउने तयारी गरिरहेको छ।