काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको ब्याजदर निरन्तर घटे पनि घरजग्गा किनबेच भने बढ्न सकेको छैन। भदौ महिनामा पछिल्लो ९ महिनायताकै सबैभन्दा कम घरजग्गा कारोबार भएको छ।
भदौ महिनामा देशभर साढे ३६ हजार ६ सय घरजग्गाको लिखत पारित भएको छ। यो संख्या २०८० पुसयताकै सबैभन्दा कम भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देखाएको छ।
२०८० कार्तिकमा २६ हजार ४६ घरजग्गाको लिखत पारित भएकोमा अर्को महिना मंसिरमा ४१ हजार ८५१ घरजग्गाको लिखत पारित भएका थिए। त्यसछि निरन्तर बढिरहेको घरजग्गा कारोबार २०८१ असारयता ओरालो लागिरहेको छ।
२०८१ जेठमा दुई वर्षयताकै उच्च कारोबार (६१,१६१) भएकोमा असारमा ४६ हजार १७९, साउनमा ४३ हजार ८३५ घरजग्गाको लिखत पारित भएको विभागको तथ्यांक छ। नयाँ सरकार बनेपछि घरजग्गा कारोबार पनि सुधार हुँदै जाने अपेक्षा गरिएकोमा उल्टै घटिरहेको अवस्था छ।
पछिल्लो समयमा बैंकमा पर्याप्त तरलता थुप्रिदा ब्याजदर घट्दै गइरहेको छ। बैंक तथा वित्तीय संस्थाहरुले बोलाएर कर्जा लिन आग्रह गर्न थालेका छन्। एकल बिन्दू ब्याजदरमै घरकर्जाका स्किम बैंकले ल्याइरहेका छन्।
तर, घरजग्गामा लगानी गर्न सर्वसाधारण अझै पनि विश्वस्त हुन सकेको अवस्था छैन।
घरजग्गा कारोबार घटेसँगै राजश्व संकलन पनि घटेको छ। भदौमा देशभरका मालपोत कार्यालयबाट ३ अर्ब ६९ करोड रूपैयाँ राजश्व संकलन भएको छ। यो रकम २०८० चैतयताकै सबैभन्दा कम हो।