काठमाडौँ। हिन्दु धर्ममा तुलसीलाई देवीको रूप मानेर यसको पूजा गर्ने गरिन्छ। आजको लेखमा तुलसीलाई घरको स्थानमा रोप्नु शुभ मानिन्छ भन्ने बारे चर्चा गरौँ।
तुलसीलाई वृन्दा नामले पनि चिनिन्छ र तुलसीमा देवी लक्ष्मीको बास हुने भएकाले घरमा धनको कहिल्यै कमी हुँदैन भन्ने जनविश्वास छ। तर सही दिशामा राखिएको तुलसीले मात्र शुभ फल दिने हुँदा उपयुक्त दिशाको पहिचान गर्नु महत्वपूर्ण हुन्छ।
शास्त्रमा तुलसीलाई यही दिशामा रोप्नुपर्छ भन्ने कुनै नियम नभएको ज्योतिषशास्त्रीहरू बताउँछन्। तुलसी त्यस्तो बिरुवा हो जसलाई घरको जुनसुकै दिशामा पनि लगाउँदा फाइदाजनक नै हुन्छ। त्यस्तै तुलसीलाई घरको त्यस्तो स्थानमा रोप्नु उपयुक्त हुन्छ जहाँ घरबाट निस्किँदा र घरभित्र पस्दा दाहिने पर्छ। यसका लागि घरको आँगनको बिच भागमा तुलसी रोप्न सकिन्छ।
दिशालाई नै आधार मानेर लगाउने हो भने तुलसीको बिरुवा घरको पूर्व वा उत्तर दिशामा लगाउनु शुभ मानिन्छ। यस दिशाबाट सूर्यको सकारात्मक उर्जा प्राप्त हुन्छ। जसले घरमा सकारात्मक ऊर्जा, सुख(शान्ति, समृद्धि ल्याउँछ। तुलसीको बिरुवा नियमित पूजाआजा तथा पानी चढाउनाले पनि सकारात्मक उर्जाको प्रवाह बढ्छ।
भनिन्छ एक हजार वृक्षले भन्दा बढी अक्सिजन एक पिपलको वृक्षले दिन्छ र एक हजार पिपलको वृक्षले भन्दा बढी अक्सिजन एक मठका तुलसीले दिन सक्छन्। यी धार्मिक र अहिलेको वैज्ञानिक मान्यताअनुसार पनि प्रमाणित भएका तथ्य हुन्।
कहाँ रोप्नु हुँदैन तुलसीको बिरुवा?
हिजोआज सहरी क्षेत्रमा पर्याप्त जग्गाको अभावका कारण घरको आँगनको विकल्पमा छतमा तुलसी रोप्ने गरिन्छ। तर वास्तु शास्त्र र धार्मिक मान्यता अनुसार तुलसीको बिरुवा घरको छतमा राख्नु अशुभ मानिन्छ। तुलसीलाई माटोमा गाडेर नै उमार्नुपर्छ भन्ने मान्यता छ। यसो हुँदा छतमा माटो राखेर नै तुलसीको लगाउँदा पनि जमिनसँग सम्पर्कविहीन हुन्छ। जसले यसको पवित्रताको ह्रास गर्छ भन्ने मान्यता छ।
त्यस्तै, ज्योतिषशास्त्रका अनुसार कतिपय व्यक्तिको कुण्डलीमा बुधको सम्बन्ध धनसम्पत्तिसँग रहेको हुन्छ। त्यस्ता व्यक्तिले तुलसीको बिरुवा छतमा राखेमा आर्थिक नोक्सान हुन्छ। तुलसीको बिरुवा छतमा राखिएको घरमा चरा वा परेवाले गुँड बनाउँछ भनिन्छ। यसलाई अशुभ मानिन्छ।