काठमाडौं । सीजी मोटर्सले नेपालमा पहिलो पटक फोर ह्वील ड्राइभ (4WD) इलेक्ट्रीक पीकअपको बिक्री सुरु गरेको छ। कम्पनीले जिली ग्रुपको रेडारा ब्रान्डअन्तर्गत उत्पादन गरिएको आरडी-६ इलेक्ट्रीक पीकअप सार्वजनिक गर्दै यसको मूल्य घोषणा गरेको हो।
सीजी मोटर्सले ललितपुरको हात्तिवन रिसोर्टमा विशेष लन्च कार्यक्रम आयोजना गर्दै नयाँ इलेक्ट्रीक पीकअपको टेस्ट ड्राइभ गराएको थियो। सोही अवसरमा तीन फरक भेरियन्टमा उपलब्ध पीकअप रेडारा आरडी-६ को तीन भेरियन्ट र मूल्य: बेस अप्सन – रु. ७९,९९,०००/-, सनरुफ अप्सन – रु. ८१,९९,०००/- र ड्युलटोन कलर विथ सनरुफ – रु. ८२,९९,०००/- समेत सार्वजनिक गरिएको छ।
यसमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्चको डिजिटल इन्फर्मेशन डिस्प्ले, एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (ADAS 2.0), ६ एयरब्याग, प्यानोरामिक सनरुफ, वायरलेस चार्जर, ८ स्पीकर, ब्राउन इन्टेरियर, ड्यूल कलर ड्यासबोर्ड, सबै सिटहरू भेन्टिलेटेड, बेड मोडमा परिवर्तन गर्न मिल्ने जस्ता फिचरहरू रहेको जानकारी गरिएको छ ।
रेडारा आरडी-६ फोर ह्वील ड्राइभ (AWD) सिस्टमसहित आउँछ, जसमा अगाडि ११५ किलोवाट र पछाडि २०० किलोवाटको मोटर जडान गरिएको छ। गाडीको संयुक्त पावर ३१५ किलोवाट रहेको छ भने पिक टर्क ५९५ न्यूटन मिटर छ।
यसमा ७३ किलोवाट आवरको एलएफपी ब्याट्री राखिएको छ, जसको डब्लूएलटीपी रेन्ज ३५६ किलोमिटर रहेको छ। अफरोड वा कठिन बाटोमा चलाउँदा ३१०–३२० किलोमिटरको वास्तविक रेन्ज पाइएको छ, भने ७५० किलोग्रामसम्म सामान बोक्न सक्षम र ८१५ एमएम गहिराइको पानी पार गर्न सक्ने अफरोड क्षमता रहेको जानकारी सार्वजनिक गरिएको छ।
नेपालको अफरोड तथा हिमाली भेगमा समेत उत्कृष्ट प्रदर्शन गर्ने गरी तयार पारिएको रेडारा आरडी-६ को बिक्री सीजी मोटर्सका आधिकारिक डिलरहरूबाट सुरु गरिएको छ।