काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा काठमाडौंमा आयोजित पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा "उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन" भन्ने नाराका साथ फागुन २६ शुरु भई २७ गते सम्पन्न भएको सम्मेलनमा श्रम तथा रोजगारका विविध विषयमा छलफल भएको थियो।
सम्मेलनको पहिलो दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल र सामाजिक सुरक्षा कोषबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो। उक्त समझदारी अनुसार, नाडाले आफ्ना आवद्ध संघ, संस्था, तथा प्रतिष्ठानहरूलाई श्रम ऐन २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ अनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनेछ। साथै, सामाजिक सुरक्षा कोषले नाडासँग सहकार्य गर्दै सामाजिक सुरक्षा योजनाहरू र सुविधाहरूका सम्बन्धमा सचेतना कार्यक्रम सञ्चालन गर्नेछ।
समझदारी पत्रमा नाडाका अध्यक्ष करण चौधरी र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका थिए। नाडाले यस सहकार्यले दुवै पक्षबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ।
यस समझदारीअनुसार नाडाले प्रदेशस्तरमा सञ्चालन गर्ने भन्सार, भ्याट तथा भिसिटिएससम्बन्धी प्रशिक्षण कार्यक्रममा सामाजिक सुरक्षा कोषबाट प्रशिक्षक उपलब्ध गराउनेछ। हस्ताक्षर कार्यक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
सम्मेलनले श्रम तथा रोजगार क्षेत्रको प्रवर्द्धनका लागि महत्वपूर्ण निष्कर्षहरू निकालेको आयोजकले जनाएको छ।