काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको संयुक्त आयोजनामा सोमबारबाट अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिप सुरु हुने भएको छ। यस प्रतियोगितामा ३२ टिम सहभागी हुनेछन् भने यसमा नेपालबाट २२, बंगलादेशबाट ४, भारतबाट ३ र पाकिस्तानबाट १ टिमले सहभागीता जनाएका छन्।
शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले प्रतियोगिताको विवरण सार्वजनिक गर्दै बताए कि दुई टिमको टुंगो लाग्न बाँकी छ। उनले यस प्रतियोगितामा नेपाली टिमले दुई जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने र कोर्टमा एक जना मात्र उत्रने नियम रहेको पनि जानकारी दिए।
संघका अध्यक्ष भीम गुरुङले पहिलो संस्करण निकै भब्य र सफल भएपछि दोस्रो संस्करण आयोजना गरेको बताए। उनले भने, “पहिलो संस्करण राम्रो भएपछि निरन्तरता दियौं। दोस्रो संस्करणमा झनै राम्रो खेल हुने विश्वास छ।”
प्रतियोगिताको सबै व्यवस्थापनको जिम्मेवारी आइडिया पिक्सेसले लिएको छ। पत्रकार सम्मेलनमा आइडिया पिक्सेलका प्रतिनिधि पवनराज जोशीले प्रतियोगिताको तयारी र व्यवस्थापन बारे जानकारी दिए। थ्री बाई थ्रीका कोर्डिनेटर तथा केन्द्रिय सदस्य शरद बिष्टले प्रतियोगिता सम्पन्न गर्न अनुमानित १२ देखि १५ लाख रुपैयाँ खर्च लाग्ने बताए।
संघका अध्यक्ष भीम गुरुङले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट कुनै सहयोग नभएको बताए। उनले भने, “हामीले यो सबै खर्च आफ्नो लागत र स्पोन्सरकै सहयोगले गर्दैछौं। राखेपबाट कुनै सहयोग भएको छैन। राखेप सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय भन्दा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नु भन्नुहुन्छ। तर, हामीले आधामात्रै खर्च बेहोर्दिनुस् भने पनि उहाँले दिनुहुन्न।”
संघले प्रतियोगिताको अन्तिम दिन भारत र पाकिस्तानबीच मैत्रीपूर्ण खेल आयोजना गर्ने योजना बनाएको छ। यसबारे अध्यक्ष गुरुङले भने, “हामीले नेपाली भूमि खेलकुदको लागि न्युट्रल भेन्यु हो भन्ने सन्देश दिनको लागि भारत र पाकिस्तानबीच अन्तिम दिन मैत्रीपूर्ण खेल आयोजना गर्दैछौं। यसमा दुबै टोलीले समर्थन जनाएका छन्।”
अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपले नेपालमा बास्केटबल खेलको लोकप्रियता बढाउन मद्दत गर्ने अपेक्षा छ। यसले खेलकुद क्षेत्रमा नेपालको अन्तर्राष्ट्रिय पहिचान बढाउन पनि योगदान दिनेछ।