काठमाडौंमा ‘फुडमाण्डु वनमार्ट’ सेवा विस्तार, अब २०-३० मिनेटमै किराना सामान घरमै

काठमाडौं । काठमाडौंको व्यस्त जीवनशैलीका कारण दैनिक उपभोग्य वस्तुहरू सहज रूपमा किनमेल गर्न कठिन बन्दै गएको छ। लामो कार्य समय, ट्राफिक जाम, पार्किङको अभाव र पसलहरूमा भीडका कारण सर्वसाधारणलाई साना-साना सामान खरिद गर्नसमेत झन्झट हुने गरेको छ। यही समस्यालाई मध्यनजर गर्दै फुडमाण्डुले ‘फुडमाण्डु वनमार्ट’ सेवा विस्तार गरेको छ, जसले दैनिक उपभोग्य वस्तुहरू छिटो र सहज रूपमा उपभोक्तासम्म पुर्‍याउने लक्ष्य राखेको छ।

फुडमाण्डु वनमार्टमार्फत उपभोक्ताले आवश्यक किराना सामान, तरकारी, फलफूल, खाजा, पेय पदार्थ, तथा घरायसी सामग्रीहरू केही क्लिकमै अर्डर गरी २०-३० मिनेटभित्र घरमै प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार, यो सेवा काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा उपलब्ध गराइएको छ र विस्तारको चरणमा रहेको छ।

फुडमाण्डु वनमार्टको सुरुवात गैरिधाराको ३ किलोमिटर क्षेत्रभित्र सीमित थियो। तर, हाल सेवा विस्तार गर्दै ललितपुरका जावलाखेल, लगनखेल, सानेपा, धोबिघाट, इमाडोल, सातदोबाटो, भैसेपाटी, नक्खु, बलकुमारी लगायतका क्षेत्रमा समेत डेलिभरी सेवा प्रदान गर्न थालिएको छ। कम्पनीले उपत्यकाभित्र थप क्षेत्रहरूमा सेवा पुर्‍याउने तयारी गरिरहेको जनाएको छ।

उपभोक्ताहरूले किनमेल गर्दा भोग्ने मुख्य समस्याहरू समय अभाव, ट्राफिकको झन्झट र होम डेलिभरीको अभाव रहेका छन्। कतिपय स्थानमा पसलहरूले डेलिभरी सेवा नदिने हुँदा उपभोक्तालाई आफैं पसल पुग्नुपर्ने बाध्यता छ। फुडमाण्डु वनमार्टले यस्ता समस्याहरूलाई सम्बोधन गर्ने प्रयास गरेको छ।

यो सेवा सुरू भएसँगै सर्वसाधारणले डिजिटल प्रविधिको प्रयोग गर्दै घरमै बसेर सजिलै आवश्यक सामग्री प्राप्त गर्न सक्ने छन्। कम्पनीका अनुसार, सेवा विस्तारसँगै अझ बढी उपभोक्तामैत्री र प्रभावकारी वितरण प्रणाली लागू गरिँदै जानेछ।

काठमाडौं उपत्यकामा अनलाइन किनमेलको लोकप्रियता बढ्दै गएसँगै, फुडमाण्डु वनमार्ट जस्तो सेवा उपभोक्ताका लागि सहज विकल्प बन्न सक्ने अनुमान गरिएको छ। कम्पनीले सेवा विस्तारसँगै उपभोक्ताका आवश्यकताअनुसार नयाँ सुविधा थप्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया