काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे ले कम्बोडिया भ्रमणका क्रममा नेपाल र कम्बोडियाबीच धार्मिक पर्यटन प्रवद्र्धन, सीधा हवाई उडानको सम्भावना तथा वृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारी गर्ने विषयमा छलफल गर्नुभएको छ।
कम्बोडियाका पर्यटनमन्त्री हुअट हाक र संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिन सँग मंगलबार भएको भेटमा मन्त्री पाण्डेले नेपाल-कम्बोडिया धार्मिक सञ्जाल निर्माण गर्ने सम्भावना रहेको बताउनुभयो।
मन्त्री पाण्डेले नेपाल र कम्बोडियाबीच ऐतिहासिक र धार्मिक सम्बन्ध प्रगाढ रहेको बताउँदै, नेपाल प्रवेश गर्दा जस्तै कम्बोडियामा पनि सडक किनारमा गणेश भगवानका मूर्तिहरू देख्न सकिने कुरा उल्लेख गर्नुभयो। यसैक्रममा, नेपालका धार्मिक स्थलहरू जस्तै लुम्बिनी, मुक्तिनाथ, जानकी मन्दिर र कम्बोडियाको अङ्कुरवाट दुबै देशका साझा सम्पदा तथा तीर्थस्थल हुन सक्ने विषयमा छलफल भएको थियो।
नेपाल र कम्बोडियाबीच सीधा हवाई उडान सञ्चालन भएमा बुद्ध धर्मावलम्बी पर्यटकहरूलाई नेपाल भ्रमण सहज हुने मन्त्री पाण्डेले बताउनुभयो।
मन्त्री पाण्डेले कम्बोडियामा निर्माणाधीन एशिया क्षेत्रकै सबैभन्दा ठूलो विमानस्थल को चर्चा गर्दै, यसले नेपाल-कम्बोडिया यात्रा सहज बनाउने उल्लेख गर्नुभयो। साथै, नेपालमा भैरहवा र पोखरामा निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने वायुसेवा कम्पनीहरूलाई विशेष सहुलियत दिने नीति अवलम्बन गरिएको जानकारी दिनुभयो।
कम्बोडियाली पक्षले लुम्बिनीमा कम्बोडियाको स्तुपा निर्माणका लागि स्थान उपलब्ध गराएकोमा नेपाललाई धन्यवाद दिँदै, दुवै देशबीच द्विपक्षीय सहयोगलाई थप मजबुत बनाउन राजदूत तथा कर्मचारीस्तरीय टोली गठनको आवश्यकतामा जोड दिएको छ।
कम्बोडियाले सन् २०२४ मा ७२ लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने लक्ष्य राखेको बताउँदै, युएन टुरिजमको बृहत्तर छाता अन्तर्गत पर्यटन पुनर्निर्माण र समृद्धिका लागि नेपालसँग सहकार्य गर्न इच्छुक रहेको जनाएको छ।
यस भेटघाटले नेपाल-कम्बोडिया सम्बन्धलाई अझ मजबुत बनाउन नयाँ दिशा दिने अपेक्षा गरिएको छ।