प्रधानमन्त्री ओलीले नयाँ सरकारको प्राथमिकतामा भ्रष्टाचार नियन्त्रण, विकास, र राहत कार्यक्रमहरू समावेश

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनलाई सामान्य घटना भन्दै अहिलेको मुख्य प्राथमिकता देशको अवस्था परिवर्तन रहेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ सरकार बनेसँगै नेपाली जनता उत्साहित भएका बताए।

“सरकार परिवर्तन हुनु ठूलो कुरा होइन, सरकार समय-समयमा परिवर्तन भइरहन्छ। अहिलेको परिवर्तनले नागरिकमा नयाँ आशा र भरोसा जगाएको छ,” उनले भने। प्रधानमन्त्रीले सरकारको ध्यान भ्रष्टाचार नियन्त्रण, विकास निर्माण, र जनतालाई राहत दिनमा केन्द्रित रहने बताए।

प्रधानमन्त्री ओलीले मुलुकको विकास, सुशासन कायम गर्दै आमजनताको हित हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले यसअघि पनि प्रधानमन्त्री हुँदा इमान्दारीका साथ काम गरेको उल्लेख गर्दै यसपटक पनि जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याए।

प्रधानमन्त्री ओलीले मनसुनका कारण मुलुकका केही स्थानमा बाढीपहिरोबाट सडक, पुल भत्केका र जनधनको क्षति भएको वास्तविकता सुनाउँदै देशको भौगोलिक स्थितिले यस्ता विपद्बाट जोगिन कठिनाइ भएको बताए। मन्त्रिपरिषद्को पहिलो बैठकले पनि दैवीविपत्ति जोखिम न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखेको उनले जानकारी गराए।

प्रधानमन्त्री ओलीले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका सम्बन्धमा गृहमन्त्रीले पनि प्राथमिकतामा साथ काम गरिरहेको उल्लेख गरे। उनले जाजरकोट भूकम्पपीडितको आवास निर्माणका लागि किस्ता रकम उपलब्ध गराउन पनि सरकार सकारात्मक रहेको बताए।

प्रधानमन्त्री ओलीले एक वर्षभित्र कुनै पनि बालबालिका कुनै पनि कारणले सडकमा अलपत्र नपर्ने अवस्थाको सुनिश्चितता गर्ने बताएका छन्। “बालबालिका भविष्यका कर्णधार हुन्, तिनलाई फस्टाउन दिनुपर्छ,” उनले भने। प्रधानमन्त्रीले कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा तीन सय दिनभित्र प्यारापिट र फ्लड लाइटको व्यवस्था गरिने बताए।

प्रतिक्रिया