काठमाडौं। हाल देशभर मनसुनी वायूको प्रभाव सक्रिय देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तरतर्फ सर्ने क्रममा पश्चिम नेपालको केही भूभागसम्म पुगेको छ, जसले मौसममा सक्रियता थपाएको छ।
हालको अवस्थाबारे विश्लेषण गर्दा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदलीको अवस्था देखिएको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। विशेषगरी सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ।
आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसका अतिरिक्त, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुने अनुमान गरिएको छ।
देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना समेत रहेकोले सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन्। यसले गर्दा नदीहरूको जलस्तरमा वृद्धि, पहिरो, भूक्षय, बाढी तथा गेज्रा बहाव जस्ता सम्भावित जोखिम बढ्न सक्ने भएकाले कृषि, स्वास्थ्य, यातायात तथा दैनिक जनजीवनमा सावधानी अपनाउन सल्लाह दिइएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar