काठमाडौँ (रासस), १ भदौः पदयात्रा व्यवसायको प्रमुख संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ कार्यसमिति चयनका लागि राजेन्द्रप्रसाद सापकोटाले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्। आगामी भदौ १७ गते हुने वार्षिक साधारणसभामा टानको नयाँ नेतृत्व चयन हुनेछ।
सापकोटाले आज काठमाडौँमा आयोजित एक कार्यक्रममा २० बुँदे चुनावी घोषणापत्रसहित आफ्नो उम्मेदवारी सार्वजनिक गरे। सापकोटा नेतृत्वको समूहमा वरिष्ठ उपाध्यक्षका लागि कर्मा शेर्पा, प्रथम उपाध्यक्षका लागि विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षका लागि सनम शेर्पा, महासचिवका लागि राजेन्द्रप्रसाद सुवेदी, सचिवका लागि रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षका लागि गौतमराज वाग्ले, र सहकोषाध्यक्षका लागि लाक्पा तेम्बा शेर्पा उम्मेदवार भएका छन्।
समूहका तर्फबाट कार्यसमिति सदस्यका लागि सागर राई, सुमन अर्याल, राजु गुरुङ, दिनेश तिम्सिना, विश्व दाहाल, भुवनबहादुर खड्का, दावा ग्याल्जेन लामा, छेपेट लामा, र पवित्रा तामाङले उम्मेदवारी घोषणा गरेका छन्।
सापकोटाले पदमार्ग संरक्षणलाई आफ्नो प्राथमिकता रहेको बताउँदै पदमार्ग सम्बन्धी नीतिगत सुधार र दीर्घकालीन व्यवसायिक सोचको विकासमा जोड दिने योजना रहेको उल्लेख गरे। सापकोटाले टानको नेतृत्वमा अन्तर्राष्ट्रिय स्तरको एडभेन्चर ट्राभल मार्ट आयोजना गर्ने योजना समेत सार्वजनिक गरेका छन्।
महासचिव पदका प्रत्यासी राजेन्द्रप्रसाद सुवेदीले पनि पदमार्ग संरक्षण र नयाँ गन्तव्य प्रवद्र्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।
टानका अध्यक्ष नीलहरि बास्तोलाले पदयात्रा पर्यटनलाई व्यवस्थित बनाउन समन्वय र सहकार्यको आवश्यकता रहेको बताउँदै नयाँ नेतृत्वको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे।
टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी, र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था रहेको छ।
#taan
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar