हाई अल्टिच्युटका बिरामीलाई उद्धार गर्न गएको हेलिकप्टर फर्कियो

काठमाडौँ।  गणेश हिमाल बेस क्याम्प नजिकै हाई अल्टिच्युटका कारण बिरामी परेर फसेकाहरूलाई उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर फर्किएको छ।

खराब मौसमका कारण ल्याण्ड गर्न नसकेपछि आँखुखोलाको शिर आसपासमा फसेकाहरूलाई उद्धार गर्न नसकी हेलिकप्टर फर्किएको हो। पटकपटक ल्याण्ड गर्ने प्रयास गरेता पनि खराब मौसम र सञ्चार सम्पर्क हुन नसकेपछि फर्किएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए।

ट्रेकिङ टोलीमा रहेका रुविभ्याली गाउँपालिकाका विपिन तामाङका अनुसार गणेश हिमाल बेसक्याम्पको केही तल (करिब डेढ घण्टाको दूरीमा) ट्रेकिङ गएका १६ जना फसेका छन्।

डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य र रेञ्जर अनुसुया ढुङ्गाना बिरामी परेका छन्। सँगै ट्रेकिङमा रहेका ११ जना भने रुविभ्याली गाउँपालिका–४ हिन्दुङ नजिकै आइपुगेका छन्।

पर्या–पर्यटन प्रवर्द्धको उद्देश्यले धादिङको रुविभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको टोली ६ दिनदेखि यात्रामा रहेका थिए। सोमबार राति त्यस स्थानमा पुगेका उनीहरू हाई अल्टिच्युटका कारण बिरामी परेका थिए।

त्यस स्थान नजिक मानवबस्ती नभएको र सञ्चार सम्पर्क नभएपछि आज बिहानदेखि ६ घण्टा हिँडेर सञ्चार सम्पर्कमा आएको जनाइएको छ।

ट्रेकिङ टोलीमा २७ जना रहेको र २ जना बिरामी परेपछि बिरामीसहित १६ जनालाई त्यही छोडेर ११ जना अहिले १४ घण्टा हिँडेर तिप्लिङको हिन्दुङ नजिक आइपुगेको जनाइएको छ। 

प्रतिक्रिया