काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) को पहिलो वार्षिक साधारण सभा (AGM) मङ्सिर २५ गते (डिसेम्बर ११, २०२५) सफलतापूर्वक सम्पन्न भएको छ । संस्थाको कार्यालय कमलपोखरीमा अध्यक्ष श्रीमती रितु सिंह वैद्यको अध्यक्षतामा भएको सभाले स्थापनादेखि हालसम्मका उपलब्धि र सिकाइको विश्लेषण गर्दै आगामी वर्षका कार्यक्रम, संस्थागत संरचना र रणनीतिक योजनाहरू औपचारिक रूपमा पारित गरेको छ ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले छोटो अवधिमा NAIMA देशको मोबिलिटी क्षेत्रको एकीकृत र शक्तिशाली आवाजका रूपमा स्थापित भएको बताउनुभयो । उहाँले विगत नौ महिनाका उपलब्धिहरू प्रस्तुत गर्दै पहिलो NAIMA Nepal Mobility Expo 2025 को सफल आयोजनाले अटोमोबाइल क्षेत्रका सरोकारवालालाई एकै थलोमा प्रदर्शनी अवलोकनको अवसर प्रदान गरेको र मोबिलिटी क्षेत्रका सिकाइ सत्रहरू निरन्तर सञ्चालनले संस्थाको भूमिकालाई थप बृहत्तर र विश्वसनीय बनाएको उल्लेख गर्नुभयो ।
कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तीय प्रतिवेदन र आगामी वर्षको कार्यक्रम तथा वित्तीय योजना प्रस्तुत गर्नुभयो । उहाँले संस्थाको दीर्घकालीन उद्देश्य हासिल गर्न प्रभावकारी कार्ययोजना, पारदर्शिता र जिम्मेवार वित्तीय व्यवस्थापनप्रति प्रतिबद्धता दोहोर्याउनुभयो । सदस्यहरूले NAIMA ले सक्रिय र प्रभावकारी रूपमा गरिरहेको कामको प्रशंसा गर्दै आपत्कालीन अवस्थामा राज्यका निकायहरूलाई सहयोग गर्न पाउँदा गौरवान्वित भएको बताए ।
सभाले २०८२/८३ का कार्यक्रमहरू पारित गरेको छ, जसमा मोबिलिटी सम्बाद, क्षमता अभिवृद्धि तालिम, क्षेत्रगत अध्ययन अनुसन्धान, नीतिगत बहस तथा पैरवी र NAIMA Nepal Mobility Expo 2026 को आयोजना मुख्य छन् । आगामी मोबिलिटी एक्स्पो २०८३ श्रावण २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्ने तयारी भएको छ ।
संस्थागत सुदृढीकरणका लागि सदस्य आकाश गोल्छाको नेतृत्वमा स्ट्राटेजी तथा मेम्बरसिप अफेयर्स कमिटी गठन गर्ने र Megatech Group Pvt. Ltd. लाई नयाँ सदस्यका रूपमा स्वागत गर्दै कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा कमिटीमा सदस्य मनोनित गर्ने निर्णय भएको छ । सम्भावित र योग्य ब्रान्डहरूलाई समावेश गर्दै मोबिलिटी क्षेत्रका सामूहिक हितका विषयमा नियमित सम्बाद जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
सभाको समापन गर्दै अध्यक्ष वैद्यले सबै सदस्यहरूलाई धन्यवाद दिँदै नेपाली मोबिलिटी क्षेत्रको दीर्घकालीन उन्नतिका लागि NAIMA ले सक्रिय भूमिका खेलिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar