सुपर माछा खोला जलविधुत आयोजना निर्माणका लागि राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविधुत आयोजना निर्माणमा लगानी गर्ने भएको छ। 

उक्त आयोजनामा लगानी सम्बन्धी सम्झौतामा बिहीबार बुढीगण्डकी हाइड्रोपावर प्रा।लि।को तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरे। 

कुल ९६ करोड ३८ लाख ३० हजार रूपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ।

प्रवर्द्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ६७ करोड ४६ लाख ८० हजार रूपैयाँ लगानी गर्नेछन्। बाँकी २८ करोड ९१ लाख ५० हजार रूपैयाँ स्वपुँजी लगानी हुनेछ। आयोजनाबाट वार्षिक २७.३७९ गिगावाट आवर विधुत उत्पादन हुनेछ। वर्षामा १८.६२१ गिगावाट आवर र हिउँदमा ८.७५ गिगावाट आवर बिजुली उत्पादन हुनेछ।

कम्पनी अध्यक्ष खगेन्द्र न्यौपाने, प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे, निर्देशक सरोज धिताल, जोन घले, ईन्द्र बहादुर ढकाल, र बिनोद थापा सहितको अनुभवी समूहले आयोजना निर्माण गर्न लागेका हुन्।

यो समूहले यसअघि सोहि क्षेत्रमा नै तोकिएको अवधिभन्दा ६ महिना अघि ४.५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविधुत आयोजना निर्माण गरी सञ्चालनमा ल्याईसकेको छ साथै कम्पनिको प्राथमिक शेयर निष्काशन (आइपिओ) तत्काल नै जारी हुने प्रक्रियामा समेत रहेको छ।

हाईड्रोपावरमा अनुभव बटुलिसकेका यो समूहले यस बुढिगण्डकी हाईड्रोपावर आगामी  १८ महिना भित्र सञ्चालनमा ल्याउने जनाएको छ।

आयोजनाको नेपाल विधुत प्राधिकरणसँग २०८० असार २१ मा विधुत खरिद बिक्री सम्बन्धी सम्झौता (पिपिए) भएको थियो। साथै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको कम्पनिले जनाएको छ।

आयोजनाको प्रसारण लाइनलाई विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सब–स्टेसनमा जोडिने छ। आयोजनाले अबको ६ महिनामा नै कम्पनीलाई पब्लिक लिमिटेड गरि प्राथमिक सेयर (आइपिओ) मा गई छिट्टै सर्वसाधरणको लागि सेयर जारी गर्ने तयारी समेत गरेको छ।

आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न र यसै बर्ष शुरू गर्ने गरि थप २२ मेगावाट क्षमताको जल्दिगाढ हाईड्रोपावर बनाउने कम्पनीले जनाएको छ।

प्रतिक्रिया