काठमाडौं | जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावले मनसुन गतिविधि सामान्य रहेको छ। हाल कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था छ। बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। भाद्र ०८, २०८२ मा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य बदलीसहित मध्यम वर्षा अपेक्षित छ। रातको समयमा गण्डकी र कर्णालीका हिमाली र पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षा, अन्य प्रदेशमा मध्यम वर्षा र तराईमा आंशिक बदलीसहित थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यसले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा प्रभाव पार्न सक्ने भएकोले नदी-नाला र खहरे खोलाहरूमा पानीको बहाव बढ्ने, पहिरो र भू-क्षयको जोखिम रहन सक्ने भएकोले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई सतर्क रहन र पछिल्लो मौसमी सूचना लिन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।