काठमाडौँ। बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर आजदेखि निष्कासन भएको छ। हकप्रद शेयर निष्कासनका लागि कम्पनीले गत जेठ २२ गते एक दिनका लागि बुक क्लोज गरेको थियो।
कम्पनीले हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर जारी गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ ६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो।
गत जेठ २१ सम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्रै हकप्रद खरिदका लागि अगामी साउन १९ गतेसम्म आवेदन दिन सक्नेछन। हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
लगानीकर्ताले आरबीबी मर्चेन्ट बैंक सहित राष्ट्रिय वाणिज्य बैंकको विरगञ्ज, जनकपुर, नारायणगढ, बिर्तामोड, हेटौँडा, तुलसीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी, धरान, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यसका साथै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’बाट समेत आवेदन दिन सकिने छ जनाइएको छ।