काठमाडौँ। काठमाडौँको प्रमुख स्थानमा भूमिगत प्रसारण लाइनको कामका लागि आज बिजुलीको लाइन काटिने भएको छ।
नेपाल विधुत प्राधिकरणले एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा लाइन काटिने जनाएको छ। उक्त वितरण केन्द्र मातहतका अधिकांश स्थानमा प्रसारण लाइन भूमिगत गरिएको छ। भूमिगत गरिएका प्रसारण लाइनमा आवश्यक काम गर्ने प्रयोजनका लागि बिजुली काटिन लागेको सूचनामा उल्लेख छ।
रत्नपार्क वितरण केन्द्रअन्तर्गत महाबौद्ध फिडरअन्तर्गत पर्ने न्यूरोड गेट, रञ्जना हल, विशालबजार सवस्टेशनभित्र, विशाल बजार अगाडि, गणेशस्थान, ट्रमा सेन्टरसम्मको केबल हेडसम्मको स्थानमा बिहान ६.३० देखि ११ बजेसम्म लाइन काटिनेछ।
यस्तै, रत्नपार्क बगैँचा, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, इन्द्रचोक, सुरज आर्केड, मसला गल्लीमोडसम्म पनि सोही समयमा बिजुलीको लाइन काटिनेछ। लैनचौर सवस्टेशनबाट लैनचौर चोक उपराष्ट्रपति कार्यालय, केशरमहल दरबारमार्ग ट्राफिक कार्यालय, पुरानो जय नेपाल हल, हात्तीसार चोक, काठमाडौँ प्लाजा, मेरियट होटल, नागपोखरी र नारायणचौरसम्म बिहान ६ः३० देखि ११ बजेसम्म बिजुली लाइन बन्द हुने प्राधिकरणको सूचनामा उल्लेख छ।
ती स्थानमा काम नलाग्ने पोल हटाउने तथा वितरण ट्रान्सफर्मरको मर्मतको काम पनि हुने भएकाले लाइन काटिन लागेको सूचनामा उल्लेख छ। "तोकिएको कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएको खण्डमा त्यसभन्दा पहिल्यै बिजुली आउन सक्ने छ। बिजुली काटिन गई सेवाग्राहीमा पर्न गएको मर्काप्रति प्राधिकरण क्षमायाचना गर्दछ”, सूचनामा भनिएको छ।
प्राधिकरणले काठमाडौँ उपत्यकाभित्र भूमिगत गरेको प्रसारण लाइनमार्फत बिजुली प्रवाहका लागि आवश्यक प्राविधिक तयारी समेत गरिरहेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar