अधिकांश वाणिज्य बैंकले फागुनका लागि स्थिर राखे ब्याजदर

काठमाडौँ।  फागुन महिनामा पनि वाणिज्य बैंकहरूको मुद्दति निक्षेपको ब्याजदर यथावत रहेको छ। कर्जाको माग बढ्न नसक्दा अधिकांश बैंकले निक्षेपमा प्रदान गर्ने ब्याजदर पनि बढाउन सकेको अवस्था छैन।

फागुन महिनाका लागि १९ वाणिज्य बैंकले मुद्दति निक्षेपको ब्याजदरलाई यथावत नै कायम गरेका छन्। ती बैंकमध्ये ग्लोबल आइएमई बैंकले ब्याजदर ०.२५ प्रतिशत बिन्दूले बढाएर ६ प्रतिशत निर्धारण गरेको छ।

अधिकांश बैंकहरूको मुद्दतिको ब्याजदर पछिल्लो तीनरचार महिनायता यथावत नै रहेको देखिन्छ। केही बैंकले मात्र ब्याजदर थोरै घटबढ गरेको देखिन्छ। 

फागुनमा एनएमबि र एनआइसी एशिया बैंकमा मुद्दति बचत राख्दा सबैभन्दा धेरै ६.६ प्रतिशत ब्याज पाइनेछ भने नेपाल एसबिआइ बैंकमा सबैभन्दा कम ५.५ प्रतिशत ब्याज पाइने छ।

अधिकांश बैंकको मुद्दति निक्षेपको ब्याजदर साढे पाँच प्रतिशतदेखि साढे ६ प्रतिशतभित्र रहेको छ। नबिल, नेपाल एसबिआई, लक्ष्मी सनराइज, कुमारी, सिटिजन्स, कृषि विकास र नेपाल वाणिज्य बैंकमा मुद्दति निक्षेप राख्दा ५‍.५ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याज पाउन सकिने छ।

नेपाल इन्भेष्टमेन्ट मेगा, माछापुच्छ्रे, हिमालयन, एभरेष्ट, एनआइसी एशिया, सिद्धार्थ, सानिमा, एनएमबि, प्रभु, ग्लोबल, प्राइम कमर्सियल र राष्ट्रिय वाणिज्य बैंकमा मुद्दति निक्षेप राख्दा ६ प्रतिशतभन्दा बढी ब्याज पाउन सकिन्छ।

प्रतिक्रिया