काठमाडौँ। भारत मोविलिटीका सन्दर्भमा नेपालस्थित भारतीय दूतावासका प्रमुख बाणिज्य सचिव सुमन शेखरको प्रमुख आतिथ्यतामा नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबीच काठमाडौँमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा भारत र नेपालबीचको मोबिलिटी क्षेत्रमा सहकार्य बढाउने सम्भावनाहरूका विषयमा गहन छलफल भएको थियो। नाडाका प्रतिनिधिहरूले नेपालको अटोमोबाइल उद्योगमा भारतको भूमिका र योगदानको प्रशंसा गर्दै दुवै देशका उद्योगबीच सघन सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
भारतीय दूतावासका बाणिज्य सचिव सुमन शेखरले कार्यक्रममा बोल्दै नेपाल र भारतबीचको सार्वजनिक यातायात र विद्युतीय सवारीसाधनको प्रबर्द्धनमा सहकार्यलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा विद्युतीय सवारीसाधनको उपयोग, सीमा क्षेत्रका व्यापारिक समस्या, र भविष्यमा दुवै देशका व्यवसायिक क्षेत्रलाई लाभ पुर्याउने परियोजनाहरूका विषयमा विचारविमर्श गरिएको थियो।
कार्यक्रमले दुई देशबीचको आर्थिक सम्बन्ध सुदृढ गर्न र मोबिलिटी क्षेत्रमा नयाँ सम्भावनाहरू खोज्न सहयोग गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।