चार महिनामा सिमेन्ट निर्यात ४१ प्रतिशतले घट्यो

काठमाडौँ। अढाई वर्षदेखि नेपालको वैदेशिक व्यापारमा उत्साह भरिरहेको सिमेन्ट र क्लिंकरको निर्यातमा गिरावट आएको छ। 

चालु आर्थिक वर्षको पहिलो ४ महिनामा सिमेन्ट निर्यात ४१ प्रतिशतले घटेको छ। निरन्तर बढिरहेको सिमेन्टको निर्यात भदौ देखि नै खस्किन थालेको हो।

चालु आ.व.को साउनदेखि कात्तिकसम्म ६६ करोड ५९ लाखको सिमेन्ट र क्लिंकर निर्यात भएको छ। जबकी, गत आ.व.को सोही अवधिमा १ अर्ब १३ करोड ८ लाखको निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

२०७९ असारदेखि नेपाली सिमेन्ट र क्लिंकर भारतीय सिमावर्ती बजारमा निर्यात सुरू भएको थियो। पहिलो आर्थिक वर्षमा करिब ७८ करोडको सिमेन्ट निर्यात भएकोमा दोस्रो आर्थिक वर्षमा तीन अर्ब ८५ करोडको निर्यात भएको थियो।

अहिले भारतीय बजारमा नेपाली सिमेन्टको माग नभएर निर्यात घटेको भने होइन। भारत सरकारले ब्यूरो अफ इन्डियन स्टान्डर्ड (बीआइएस) नविकरणमा ढिलाइ गर्दा सिमेन्ट निर्यात घट्न थालेको हो। बीआइएस नभई भारतमा सिमेन्ट निर्यात गर्न पाइँदैन। तर, अर्घाखाँची लगायत सिमेन्ट उद्योगको बीआइएस नविकरण नभएको महिनौं भइसक्यो। 

निर्यातमा ठूलो योगदान पुराइरहेका उद्योगकै बीआइएस नविकरण नभएका कारण निर्यात खस्किन थालेको हो। 

चालु आ.व.को ४ महिनामा १६ करोड ९ लाख रूपैयाँ बराबरको २९ हजार ८५१ टन क्लिंकर (अर्धप्रशोधित) सिमेन्ट निर्यात भएको छ भने ४९ करोड ६९ लाख रूपैयाँ बराबरको २ लाख ३९ हजार टन तयारी सिमेन्ट निर्यात भएको देखिन्छ।

अहिले पाल्पा, सिजी पाल्पा, सर्वोत्तम, सौर्य लगायत उद्योगबाट सिमेन्ट र क्लिंकर निर्यात भइरहेको छ।

प्रतिक्रिया