'विकासको लागि वित्त संवाद'को उद्घाटन: महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालको सम्बोधन

काठमाडौँ  | 4 भदौ 2081: नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्रप्रसाद ढकालले 'विकासको लागि वित्त संवाद' कार्यक्रमको उद्घाटनमा बोल्दै नेपालको आर्थिक विकासका चुनौती र अवसरहरूबारे गहन छलफल आवश्यक रहेको बताउनु भएको छ।

उहाँले सरकार, निजी क्षेत्र, र संयुक्त राष्ट्रसंघसँगको सहकार्यले नेपालको दीगो विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने कुरामा जोड दिनु भयो। उहाँले भन्नुभयो, "हाल नेपालको अर्थतन्त्रमा वैदेशिक प्रत्यक्ष लगानी (FDI) जीडीपीको केवल ०.२ प्रतिशतमा सीमित रहेको छ, जुन हाम्रो सम्भावना अनुसार धेरै नै न्यून हो।"

अध्यक्ष ढकालले अनुदानको कमीले नेपाललाई ऋणमा निर्भर गराएको र यसले दीर्घकालीन आर्थिक स्थिरतामा चुनौती उत्पन्न गर्न सक्ने चेतावनी दिनु भयो। उहाँले थप्दै भन्नुभयो कि नेपालले अल्पविकसित राष्ट्रको सूचीबाट स्नातक गरेपछि थप चुनौतीहरू आउनेछन्।

"नेपालको दीगो विकासका लागि आवश्यक वित्तीय स्रोत जुटाउन हामीले रणनीतिक र नविन सोचका साथ अघि बढ्नुपर्नेछ," उहाँले बताउनु भयो।

नेपालमा लगानीमैत्री नीतिको वातावरण बनाउन महासंघले संसद्का १५० भन्दा बढी सांसदहरूसँग छलफल गरेको र सरकारले आठ वटा कानुन संशोधन गर्दै द्विपक्षीय लगानी संरचना पारित गरेको उहाँले जानकारी दिनु भयो।

अध्यक्ष ढकालले नेपाललाई लगानीको लागि आकर्षक गन्तव्यको रूपमा स्थापित गर्न FNCCI ले भारत, चीन, दुबईमा लगानी प्रवर्द्धन कार्यक्रमहरू आयोजना गरेको र आगामी महिना थाइल्याण्डमा यस्तै कार्यक्रम गर्ने योजना रहेको जानकारी दिनु भयो।

अन्त्यमा, उहाँले सबै सरोकारवालाहरूसँग सहकार्य गरेर मात्र नेपालको दीगो विकास सम्भव हुनेमा विश्वास व्यक्त गर्दै नेपाललाई समृद्ध राष्ट्र बनाउन सबैलाई एकजुट हुन आह्वान गर्नु भयो।

#fncci

प्रतिक्रिया