काठमाडौँ। मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हुँदै आउने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ। यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
मुलुकभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रूपमा वीरगञ्ज चिनिन्छ। चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रू १२ अर्ब ६६ लाख ८० हजार बराबरको १ लाख ३५ हजार ५ सय १८ किलोलिटर हाइस्पिड डिजेल आयात भएको छ।
भन्सार कार्यालयका अनुसार गत आ.व.को ३ महिनाको तुलनामा चालु आ.व.को सोही अवधिमा हाइस्पिड डिजेलको आयात २५.३३ प्रतिशतले घटेको छ। डिजेल आयात घटेसँगै राजस्व सङ्कलन पनि २७.४३ प्रतिशतले घटेको छ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत हाइस्पिड डिजेल पाइप लाइनबाट आयात हुने गरेको छ भने पेट्रोल ट्याङकरबाट नै ल्याउने गरिन्छ। अमलेखगञ्जस्थित नेपाल आयल निगम प्रादेशिक कार्यालयका अनुसार पूर्वाधार तथा विकास निर्माणका गतिविधि कम हुँदा पेट्रोलियम पदार्थको खपत घटेको हो। पूर्वाधार तथा विकास निर्माणका गतिविधि बढ्ने बित्तिकै आयात बढ्ने उहाँको बुझाइ छ। विधुतिय सवारीसाधन प्रति सर्वसाधारणको आकर्षण बढेसँगै पेट्रोलियम पदार्थको खपत पनि घटेको छ।
नेपाल निर्माण व्यवसायी महासङ्घका अनुसार वर्षायाम र सरकारी निकायले निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी नदिँदा निर्माणक्षेत्रले अपेक्षाकृत गति लिन नसकेको जानकारी दिएको छ। हाल निर्माणजन्य सामग्री र उपकरणको आयात घटेको छ। मनसुन र चाडपर्व सकिएपछि विकास निर्माणका गतिविधि चलायमान हुने विश्वास लिइएको छ।
चालु आ.व.को ३ महिनामा पेट्रोल आयात पनि घटेको छ। चालु आ.व.को असोज मसान्तसम्ममा रू ६ अर्ब ५८ करोड ४६ लाख ८३ हजार बराबरको ७४ हजार ७ सय १२ किलोलिटर पेट्रोल आयात भएको छ। अघिल्लो आ.व.को सोही अवधिमा पेट्रोलको आयात २२.५२ प्रतिशतले घटेको थियो।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar