काठमाडौँ, ३१ असार : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो।
राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६(२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो। प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीच असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। राष्ट्रपति पौडेलले शुक्रबार प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मका लागि समय दिनुभएको थियो।
मन्त्रिपरिषद्को विस्तारपछि, राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल साथै अन्य मन्त्रीहरुले पनि शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष शपथ लिएका हुन्।
समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र डा. बाबुराम भट्टराई, विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar