आईपीओ जारी गर्दैश्री डिस्टिलरी, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

जेठ ३१, काठमाडौं नेपालका प्रमुख मदिरा उद्योगमध्ये एक श्री डिस्टिलरी लिमिटेडले प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्ने भएको छ ।

आईपीओ जारी गर्न श्रीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । श्रीले ९ लाख ६० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीको कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत आईपीओका लागि छुट्याइएको छ । आईपीओ निष्कासन गर्न आज बिहीबार दुवै कम्पनीबीच सम्झौता भएको छ ।
सम्झौतामा श्री डिस्टिलरीका तर्फबाट सञ्चालक सनत न्यौपाने र प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) आशिष गौचनले हस्ताक्षर गरेका छन् । हस्ताक्षर पछि श्रीका सञ्चालक न्यौपानेले लामो समयदेखि मदिरा उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीले अब जनतालाई पनि साझेदार बनाएर अघि बढ्न लागेको बताए ।
प्रभु क्यापिटलका सीईओ गौचनले आईपीओ निष्कासनमा श्री डिस्टिलरीले गरेको विश्वासप्रति धन्यवाद दिए ।
सम्झौतासँगै श्रीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेस गर्ने छ । प्रक्रिया पूरा गरी चाँडै कम्पनीले आईपीओ जारी गर्ने जनाएको छ ।


डिस्टिलरी सन् १९८५ मा स्थापना भएको थियो । यसले सुरुवाती ब्रान्डमा किङ्स प्राइड ह्विस्की, माउन्ट एभरेस्ट ह्विस्की, बन्ड ब्ल्याक लेबल, ओएसिस एक्स्ट्रा ड्राई, श्री स्पेसल नम्बर वान, दुधिया स्पेसल, बुलेट, श्री दुधिया, सगुन लगायत उत्पादन गथ्र्यो ।

कम्पनीले हाल प्रियसी सोफी, प्रियसी दुधिया, सगुन एप्पल, सगुन ग्रिन एप्पल, सगुन एक्स्ट्रा, जोस, स्पेसल नम्बर वान ब्रान्डका मदिरा उत्पादन गरिरहेको छ ।

कम्पनीले चाँडै ओएसिस, अल्फा ब्लु र बोन्ड ब्ल्याक लेबल गरी तीन नयाँ ब्रान्ड बजार ल्याउने तयारी गरिरहेको छ । स्प्रिट लाइसेन्स रहेको र आईपीओ निष्कासनपछि कम्पनीले उच्च गुणस्तरको स्प्रिट उत्पादनमा पनि काम गर्ने जनाएको छ । 

प्रतिक्रिया