पुष २१,काठमाडौं– चिकित्सा क्षेत्रको सुधारका लागि आन्दोलनरत डा गोविन्द केसी पक्राउ परेका छन्। विभिन्न माग राख्दै माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका डा केसीसहित सात जना पक्राउ परेको डा केसीका सहयोगी डा प्रितम सुवेदीले सिएफ़एन खबर लाई जानकारी दिए।
डा केसीले एक विज्ञप्ति जारी गर्दै प्रदर्शन गरिरहेको अवस्थामा पक्राउ गरेर थुन्न खोज्नु प्रचण्ड सरकारको तानाशाही प्रवृत्ति भएको टिप्पणी गरेका छन्।
यस्तै विभिन्न माग राखी माइतीघर मण्डलाको निषेधाज्ञा तोड्ने क्रममा उनीहरु पक्राउ परेका हुन्। डा केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याउन माग गरेका छन्।
यस्तै नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकार तत्काल फिर्ता गरिनुपर्ने, चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अदालतबाट रोकिएकोमा तत्काल अदालतले नै बाटो खोलेर नियुक्ति अघि बढाउनुपर्ने र यसअघि भएका सम्झौताहरु कार्यान्वयन गर्न माग गरिएको छ।