काठमाडौँ। नेवार समुदायका बौद्ध धर्मावलम्वीहरूले मनाउने एक महिने गुँला पर्व आज (सोमबार) देखि सुरू भएको छ।
नेपाल संवतको गुँलाथ्व पारूदेखि ञलाथ्व पारूसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका सहित बौद्ध चैत्यहरूको परिक्रमा गर्ने गरिन्छ।
आजबाट सुरू भएको उक्त पर्वको अवसरमा स्वयम्भूमा मेला लागेको छ। गुँला पर्वको अवसरमा विशेषगरी नौ बाजा बजाउने प्रचलन रहेको छ।
गुँला पर्व विशेषगरी बौद्धमार्गीको पर्व भएपनि गुँला पर्वमा अन्य धर्मावलम्वीहरू समेत सहभागी हुने गर्दछन्। गुँला पर्वमा बौद्धमार्गी विशेषगरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्ने गर्दछन्।
गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो। यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ। हरेक दिन अब एक महिनासम्म टोलटोलबाट बाजा लिएर चैत्य परिक्रमा गर्ने गर्दछन्। यो पर्व एक महिनासम्म बुद्धको विशेष पूजा आराधना गरेर मनाउने गरिन्छ।
पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ। जहाँ धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar