एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद चैत २३ गते काठमाडौंमा हुँदै

काठमाडौं।  व्यावसायिक र आर्थिक क्षेत्रका अग्रणीहरूलाई गल्फ खेलमा प्रतिस्पर्धा गराउँदै देशको आर्थिक अभिवृद्धिका लागि वैचारिक बहसमा संलग्न गराउने उद्देश्यले वार्षिक रूपमा आयोजना गरिँदै आएको 'कर्पोरेट गल्फ' प्रतियोगिता यस वर्ष आठौं संस्करणमा प्रवेश गर्ने भएको छ।

‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ चैत २३ गते काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने भएको छ। बाह्रखरी मिडियाले यो कार्यक्रमलाई निरन्तरता दिँदै व्यावसायिक व्यक्तित्वहरूलाई गल्फ प्रतियोगितामा सहभागिता जनाउने अवसर दिनुका साथै देशको आर्थिक सुधारबारे छलफल गर्ने प्लेटफर्म प्रदान गर्दै आएको छ।

यस कार्यक्रममा कर्पोरेट गल्फ प्रतियोगितासँगै नेपालका आर्थिक विषयमा बहस गर्न आर्थिक परिसंवाद पनि आयोजना गरिनेछ। परिसंवादमा नेपालको आर्थिक अवस्था, व्यापार व्यवसायका अवरोध, प्रविधि क्षेत्रका अवसर तथा चुनौती, दोस्रो चरणको आर्थिक सुधारको आवश्यकता जस्ता महत्त्वपूर्ण विषयमा छलफल गरिनेछ।

नेपालका नीति निर्माण तहका उच्च अधिकारीहरू, अर्थमन्त्री, विभिन्न मन्त्रीहरू, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरू, कर्पोरेट क्षेत्रका अगुवा, बुद्धिजीवी, अर्थविद्, बैंकर, उद्यमी तथा सांसदहरू यस आर्थिक परिसंवादमा सहभागी हुनेछन्।

गोकर्ण फरेस्ट रिसोर्टमा हुने गल्फ प्रतियोगितामा नेपालसहित भारत, अमेरिका, चीन, सिंगापुर र श्रीलंकाका गल्फरहरू प्रतिस्पर्धा गर्नेछन्। नेपालस्थित विदेशी नियोगका प्रतिनिधिहरूले पनि सहभागिता जनाउनेछन्।

प्रतियोगिता १८ होलको स्टेवल फोर्ड फर्म्याटमा खेलाइनेछ। यसमा विभिन्न विधाका विजेताहरूलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ भने 'अल-राउन्ड' विजेताले २४ क्यारेट सुनले बनेको गल्फ बल पुरस्कारस्वरूप पाउनेछन्।

यसबाहेक, कुनै खेलाडीले 'होल इन-वन' गरेमा पुरस्कारस्वरूप बीवाईडीको 'एट्टो थ्री' इलेक्ट्रिक गाडी प्राप्त गर्नेछन्।

यस वर्ष पनि कार्यक्रममा एनसेल प्रमुख प्रायोजकको रूपमा रहनेछ। एनसेल फर बिजनेसले नेपालका व्यवसायिक समुदायलाई उच्चस्तरको कनेक्टिभिटी र डिजिटाइजेसन सेवा प्रदान गर्दै आएको छ।

यसका साथै, विद्युतीय गाडी ब्रान्ड बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंक, खुकुरी रम उत्पादक नेपाल डिस्टिलरिज, जोनी वाकर आधिकारिक विक्रेता ग्लोबल ट्रेडिङ कन्सर्न, नविल बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक, भाटभटेनी सुपर स्टोर्स, हिमालयन बैंक, नेपाल पर्यटन बोर्ड, शिखर इन्स्योरेन्स, माटो नेपाल र अजया डाइमन्ड कार्यक्रमका सहप्रायोजक रहेका छन्।

बाह्रखरी मिडियाले गल्फ खेलको माध्यमबाट व्यावसायिक क्षेत्रलाई सामाजिक र आर्थिक सचेतनामा योगदान दिने उद्देश्य राखेको छ। विगतमा पोखरा, धरान, सगरमाथा क्षेत्रलगायत विभिन्न स्थानमा यो प्रतियोगिता आयोजना गरिएको थियो।

यस वर्ष ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा करिब १२० जना गल्फ खेलाडी तथा १५०० अतिथि उपस्थित रहने अनुमान गरिएको छ। कार्यक्रममार्फत नेपालका व्यावसायिक तथा राजनीतिक क्षेत्रका नेतृत्वबीच अर्थतन्त्र सुधारका विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया