काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अविरल वर्षापछि आएको बाढीपहिराका घटनामा परेका नागरिकको खोजी, उद्धार र राहतलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताए।
देशका विभिन्न भागमा भएका विपद्का घटनालगत्तै सरकारले विपद् प्रतिकार्यलाई तदारुकताका साथ अघि बढाएको नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले जानकारी दिए। “विपद्का बेलामा जनताले सरकार सम्झनु स्वाभाविक हो, हामीले हिजोदेखि नै तदारूकताका साथ प्रतिकार्यका काम गरिरहेका छौँ”, उनले भने।
सरकार जनताको जीउधन सुरक्षित बनाउन क्रियाशील रहेको जनाउँदै उनले त्यसका लागि सरकारले आफ्नो सम्पूर्ण प्रयास गर्ने स्पष्ट पारे।
प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आजै आकस्मिक समन्वयात्मक बसी प्रभावितलाई राहत उपलब्ध गराउने र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरिएको जानकारी दिए।
“कहाँ–कहाँ के–के नोक्सान भयो, बैठकमा देशभरको विपद् परिस्थितिको समीक्षा गरियो, अझै पनि चुनौती रहेका क्षेत्रको पहिचान गरेर सम्बन्धित मन्त्रालयलाई सक्रियताका साथ उद्धारमा लाग्न निर्देशन दिइएको छ”, मन्त्री गुरुङले भने।
बाढी, पहिरोलगायत विपत्को समयमा गृह मन्त्रालयको सबैभन्दा बढी भूमिका हुने जनाउँदै उनले उद्धार वा अन्य सहयोगमा कुनै पनि कमी आउन नदिन सक्रियताका साथ काम गर्न बैठकबाट निर्देशन भएको बताए।
मन्त्री गुरुङले खानेपानी, विधुत, सञ्चार, सडकलगायत अत्यावश्यक सेवा यथाशीघ्र पुनः सञ्चालनमा ल्याउन सबै मन्त्रालयलाई निर्देशन दिनुका साथै विपत्का समयमा आ–आफ्ना जिम्मेवारी पूरा गर्न सम्पूर्ण मन्त्रालय र सरोकारवाला सबै निकायको ध्यानाकर्षण गराएको जानकारी दिए।
बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाली सेना वा नेपाली प्रहरीलगायत विपद् प्रतिकार्यमा लागि ‘अलर्ट’ रहन निर्देशनसमेत दिएको मन्त्री गुरुङले जानकारी दिए।
रासस
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar