माघ १६ , काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दलका नेता तथा पदाधिकारीलाई सवारीको सुविधा दिने विषय वित्तीय अपराध भएको बताएका छन् । मंगलबार विराटनगरमा आयोजित समुदायमा कांग्रेस अभियानको उद्घाटन गर्दै उनले कोशी प्रदेश सरकारले ल्याउन लागेको अध्यादेशप्रति आपत्ति जनाएका हुन्।
‘मुलुकको आर्थिक अवस्था धराशायी छ। यस्तो अवस्थामा सरकारले खर्च कटौती गर्नुपर्ने थियो,'उनले भने, 'तर सरकारले सुविधा बढाउने प्रयास गरेको छ। यसले नेपाली कांग्रेसका साथीहरुलाई पीडाबोध भइरहेको महसुस भएको छ।’
मुलुक वित्तीय संकट र अपराधका कारण अत्यन्त जटिल अवस्थामा रहेको बताएका नेता कोइरालाले भने, ‘आर्थिक अवस्थालाई लिएर अन्य मुलुकले हामीलाई मूल्यांकन गरिरहेको छ। यहाँ सम्पत्ति शुद्धीकरणले समेत काम गर्न सकेको छैन। विदेशबाट पैसा आउँदा कहाँबाट आयो त्योसमेत थाहा हुँदैन। भ्रष्ट्राचार दिनानुदिन बढ्दै गएको छ।’
प्रदेश सरकारले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा २ को खण्ड (ख) अध्यादेशबाट संशोधन गरेको छ।
संशोधनपछि प्रदेश सभाका पदाधिकारीको रुपमा पूर्वमुख्यमन्त्री र सरकारमा रहेका दलका नेताहरुलाई पनि थप गरिएको छ। अध्यादेशअनुसार अनुसूची संशोधन भएमा प्रदेशसभामा रहेका राजनीतिक दलका संसदीय दलका नेता र पूर्वमुख्यमन्त्रीहरुले गाडीसहितको सुविधा प्राप्त गर्नेछन्।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar