नाडा अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको प्रमुख संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नयाँ नेतृत्वका लागि सुरेन्द्रकुमार उप्रेती निर्विरोध अध्यक्ष निर्वाचित भएका छन्।

उम्मेदवारी दर्ताको अन्तिम म्याद बिहीबार दिउँसो १२ बजेसम्म तोकिएकोमा अध्यक्ष पदका लागि उप्रेतीको एक मात्र उम्मेदवारी दर्ता भएपछि उनी स्वतः निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। यसअघि नाडाको महासचिवको जिम्मेवारी सम्हाल्दै आएका उप्रेती स्पेयर पार्टस् व्यवसायमा सक्रिय छन्।

नाडाको केन्द्रीय कार्यसमितिका अन्य पदाधिकारीहरू पनि निर्विरोध हुने सम्भावना बलियो देखिएको छ। यद्यपि, केन्द्रीय सदस्य पदका लागि भने निर्वाचन हुने भएको छ। १७ सिटका लागि १८ जनाको उम्मेदवारी परेकाले एक जनालाई समायोजन गर्ने प्रयास जारी रहेको संस्थाले बताएको छ।

केन्द्रीय सदस्यहरूको अन्तिम निर्वाचन आगामी पुस २५ गते हुने कार्यक्रम रहेको छ। नाडाको नयाँ कार्यसमितिले अटोमोबाइल तथा स्पेयर पार्टस् व्यवसायको हित प्रवर्द्धनमा थप जोड दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया