काठमाडौं। भेन्चर हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बाबुराम शर्माले नेपालको अटोमोबाइल क्षेत्रमा हायर पर्चेज कम्पनीहरूबाट २६ अर्ब ५० करोड रुपैयाँ लगानी भएको बताएका छन्। काठमाडौंको भृकुटीमण्डपमा भाद्र ३ देखि ८ सम्म चलिरहेको नाडा अटो शो २०२५ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले संयुक्त रूपमा आयोजना गरेको ‘कर्जा नीतिमा स्थिरता: अटोमोबाइल बजारको दीर्घकालीन विकासको आधार’ विषयक अन्तरक्रियामा बोल्दै उनले यो जानकारी दिएका हुन्।
शर्माले काठमाडौंमा दर्ता भएका हायर पर्चेज कम्पनीहरूले ग्रामीण क्षेत्रसम्म कर्जा विस्तार गरेको उल्लेख गर्दै कर्जा प्रवाहमा थप सहज नीति आवश्यक रहेको बताए। उनले भने, “हामीले गाउँ-गाउँमा कर्जा सुविधा पुर्याएका छौं, तर कर्जा प्रक्रियालाई अझ सरल र सहज बनाउन सरकारको सहयोग अपरिहार्य छ।” उनले नेपालमा स्थापित कम्पनीहरूबाट बिक्री हुने गाडीहरूमा कर्जा प्रदान गर्दा जोखिम कम हुने र खराब कर्जाको समस्या न्यून रहेको बताए।
पछिल्लो समय विद्युतीय गाडीको मागमा उल्लेख्य वृद्धि भएको र यसले कर्जाको माग पनि बढाएको शर्माले उल्लेख गरे। “विद्युतीय गाडीप्रति उपभोक्ताको आकर्षण बढ्दो छ, र हामीले यस्ता गाडीका लागि कर्जा प्रवाहमा विशेष ध्यान दिएका छौं,” उनले थपे। अटोमोबाइल क्षेत्रमा कर्जा प्रदान गर्दा बिक्रीपछिको सेवा, सर्भिस सेन्टरको उपलब्धता र गाडीको गुणस्तरलाई प्राथमिकता दिइएको उनको भनाइ छ।
नाडा अटो शो २०२५ मा अटोमोबाइल क्षेत्रको दीर्घकालीन विकासका लागि कर्जा नीतिमा स्थिरता र सहजीकरणको आवश्यकता जोड दिइएको छ। शर्माले हायर पर्चेज कम्पनीहरूले अटोमोबाइल बजारको विस्तारमा महत्त्वपूर्ण योगदान दिएको र यो क्षेत्रमा लगानीको सम्भावना अझै उच्च रहेको बताए। सर्वसाधारण र व्यवसायीहरूलाई नाडा अटो शोमा सहभागी भई नवीनतम प्रविधि र गाडीहरूको अवलोकन गर्न उनले आग्रह गरे।