साफ च्याम्पियनसिप फुटबल: भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ। भुटानमा जारी साफ यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। 

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा आज भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले भुटानलाई २–१ को गोलअन्तरले पछि पार्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।

खेलमा पहिलो अग्रता भने भुटानले लियो। खेलको ४३ औँ  मिनेटमा छिमी तोब्देन दोर्जीले गोल गरे। त्यसपछि खेलको ५६ मिनेटमा नेपालका कृष्ण बहादुर आलेले गोल गर्दै खेललाई एकरएक गोलको बराबरीमा ल्याए। यसैगरी खेलको ८५ औँ मिनेटमा नेपालका अर्का खेलाडी सुजन डङ्गोलले गोल गर्दै नेपाललाई २–१ को जीत दिलाए।

उक्त जीतसँगै नेपाल ३ खेलबाट ६ अङ्क जोडेर समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनलमा पुग्न सफल भएको हो। दुई जीत र एक बराबरीसहित ७ अङ्क जोडेको पाकिस्तान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगिसकेको छ।

नेपालले सेमिफाइनलमा समूह ‘ए’ को विजेता  भारतसँग खेल्नेछ। त्यस्तै अर्को सेमिफाइनल खेलमा पकिस्तान र बाङ्लादेश भिड्ने छन्। दुवै सेमिफाइनल खेल यही असोज १२ गते हुनेछ।

प्रतिक्रिया