बीबी एयरवेजलाई ‘एनओसी’, उडान संगै एक महिनापछि, भैरहवाबाट पनि उडान गर्ने

बीबी एयरवेजलाई एनओसी दिने प्रक्रिया अन्तिम चरणमा पुगे संगै नेपाली उड्डयन उद्योगमा फिक्स विङतर्फ दुईवटा वायुसेवा कम्पनी थपिने भएका छन्। अन्तर्राष्ट्रिय उडानका लागि बीबी एयरवेजलाई दुई साताभित्र नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) दिने तयारी छ। एनओसी उडान सञ्चालनको अनुमति हो।

‘कम्पनीले दुई साताभित्र एनओसी पाउनेछ। त्यसलगत्तै कम्पनीले जहाज ल्याएर डेमोन्स्ट्रेसन फ्लाइट बीबी एयरवेजले गर्नुपर्ने हुन्छ।

बीबी एयरवेजले प्राधिकरणमा दुई वटा एयरबस ३२० ‘न्यारोबडी जहाज’ ल्याएर व्यावसायिक उडान गर्ने योजना पेश गरेको छ।        

प्राधिकरणबाट एनओसी प्राप्त गरेलगत्तै जहाज ल्याउने योजना रहेको कम्पनीका प्रशासन प्रमुख श्रीष शर्माले बताए। ‘हामी लगभग एनओसी पाउने चरणमा पुगिसकेका छौं। एनओसी पाएलगत्तै जहाज ल्याएर आउँदो जनावरीबाट नियमित व्यावसायिक उडान गर्ने तयारी छ,’ उनले भने, ‘हामीले काठमाडौंका साथै भैरहवाबाट पनि व्यावसायिक उडानको योजना बनाएका छौं।’

भैरहवा-मलेसिया उडान गर्नका लागि कम्पनीले गृहकार्य सुरु गरिसकेको छ। एयरवेजले केही कर्मचारी भर्ना गरिसकेको छ। शर्माका अनुसार सुरेशमान सिंह सीईओ, केबी थापा क्यामो डाइरेक्टर र वरिष्ठ क्याप्टेन ओबी गुरुङ अपरेसन डाइरेक्टर नियुक्त भएका छन्।

यस्तै देशभित्र चेक पाइलटको अभाव रहेकाले कम्पनीले श्रीलंकाका एक वरिष्ठ क्याप्टेन झिकाएको छ। विदेशी क्याप्टेनको श्रम स्वीकृतिको प्रकृया बाँकी छ। ११ वर्षअघि स्थापना भएको बीबी एयरवेजको उडान तीन महिनामै बन्द भएको थियो। कम्पनीले पुन: उडान सेवा सञ्चालनका लागि गत वर्ष फागुनमा इजाजत पत्र नवीकरण गराएको थियो।


प्रतिक्रिया