काठमाडौँ। अघिल्लो वर्षको तुलनामा यस वर्ष देशैभर जग्गाको कित्ताकाट सामान्य रूपमा बढेको छ।
२०८१ को वैशाखदेखि अशोज महिनासम्म देशभर २ लाख ९४ हजार ४६२ कित्ता जग्गा टुक्राएर ६ लाख ६२ हजार ४०५ कित्ता पुर्याइएको छ। यस्तो कित्ताकाटको संख्या अघिल्लो वर्ष २०८० को सोही अवधिमा ६ लाख १२ हजार रहेको थियो।
अघिल्लो वर्षको पहिलो ६ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा घरजग्गा किनबेच पनि बढेको छ।
भूमि व्यवस्थापन विभागका अनुसार यस वर्ष सबैभन्दा धेरै कित्ताकाट जेठ महिनामा भएको देखिन्छ। जेठमा देशभर १ लाख ६५ हजार ४ सय कित्ताकाट भएका छन्।
वैशाखमा १ लाख ३० हजार, असारमा १ लाख ३६ हजार कित्ताकाट भएका छन भने साउनदेखि पुनः कित्ताकाट रोकिएपछि घटेको थियो। जग्गा वर्गीकरण नभएको क्षेत्रमा कित्ताकाट रोकिएपछि साउनदेखि घटेको भूमि विभागले जनाएको छ।
साउनमा करिब ९६ हजार, भदौमा ६१ हजार र अशोजमा ७२ हजार कित्ताकाट भएका छन्। सरकारले भूउपयोग नियमावली २०७९ संशोधन गरेर एक वर्षका लागि कित्ताकाट खुला गरेको छ।