काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले 'हरित (ग्रिन) अर्थतन्त्र' प्रवर्द्धनमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन्।
नेपाल वातावरण पत्रकार समूहले काठमाडौंमा आयोजना गरेको "पर्यटन क्षेत्रमा वातावरण प्रदूषणको असर" विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै सीईओ जोशीले वातावरण प्रदूषणको बढ्दो समस्याले नेपालको प्राकृतिक सौन्दर्य र अन्तर्राष्ट्रिय छविमा असर पार्न थालेको उल्लेख गरे।
उनले भने, “नेपालमा जलवायु परिवर्तनका असरहरू तीव्र गतिमा बढ्दै छन्। विशेषतः वायु प्रदूषणको असरले पर्यटन क्षेत्र प्रत्यक्ष प्रभावित भएको छ। अन्य उद्योग र निर्माण गतिविधिले वातावरणमा नकारात्मक असर पुर्याइरहेका छन्, तर पर्यटन क्षेत्र मात्र यस्तो हो जसले ‘ग्रिन इकोनोमी’मा सकारात्मक योगदान दिइरहेको छ।”
सीईओ जोशीका अनुसार, नेपालको जलवायु परिवर्तनमा योगदान नगन्य भए पनि यसको असर भने अत्यधिक रूपमा नेपालले भोग्नुपरेको छ। उनले भने, “नेपालको छवि प्राकृतिक सौन्दर्यले भरिएको मुलुकको रूपमा विश्वभर छ तर बढ्दो वायु प्रदूषणले यो छवि छोप्न थालेको छ।”
उनले सरकारलाई पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने सुझाव समेत दिए। “नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा उल्लेखनीय योगदान पुर्याउने यो क्षेत्रले करिब १० लाखभन्दा बढी जनतालाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा रोजगारी दिएको छ,” जोशीले भने, “यसकारण जलवायु जोखिम न्यूनीकरण, वातावरण प्रदूषण नियन्त्रण, र पर्यटनमैत्री नीतिहरूमा सरकार गम्भीर हुनुपर्ने समय आएको छ।”
कार्यक्रममा वातावरण तथा पर्यटन क्षेत्रका विज्ञ, पत्रकार, नीति निर्माता र सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रममा पर्यटन विकासका लागि दीर्घकालीन र दिगो समाधानहरूमा जोड दिइएको थियो।