काठमाडौँ। वास्तु विज्ञानले घरको समग्र प्रारूप कस्तो हुनुपर्छ भनेर निर्देशित गर्दछ। कस्तो माटोमा घर बनाउने, मोहोडा कुन दिशामा फर्काउने, शयन कक्ष लगायत कुन–कुन दिशामा बनाउने, झ्याल–ढोका कति राख्ने इत्यादि।
वास्तु विज्ञान अनुसार घर बनाउँदा घरमा शुभ हुने विश्वास गरिन्छ। वास्तवमा वास्तु आफैंमा यस्तो विज्ञान हो, जसले भरपर्दो, सहज, सुविधाजनक घर निर्माणका लागि मार्ग प्रदान गर्छ।
वास्तु विज्ञान अनुसार घर बनाउँदा मान्छेमा सकारात्मक परिवर्तनहरू आउने, पर्याप्त हावा खेल्न पाउने, घर बलियो हुने, स्वस्थ्य रहने, घरभित्र बस्न सहज हुने हुन्छ। वास्तु विज्ञानले घरमा कस्तो झ्यालढोका बनाउनेदेखि कुन दिशामा र कस्तो भर्याङ राख्ने भन्ने कुरालाई समेत तय गरिदिएको छ। यसका साथै घर बनाउँदा भर्याङलाई कुन दिशातर्फ राख्ने भन्ने विषयमा दुविधा हुन सक्छ हामी आजको लेखमा यहाँ उल्लेख गर्ने छौँ।
भर्याङलाई घरको दक्षिण–पश्चिम दिशामा बनाउनु एक उत्तम विकल्पको रूपमा लिइन्छ। भर्याङ बनाउँदा ध्यान दिनुपर्ने कुरा के हो भने सिंढी उत्तर दिशाबाट सुरू भएर दक्षिणमा टुंगिएको हुनुपर्छ। वैकल्पिक रूपमा यो पूर्वबाट सुरू भएर पश्चिममा सकिएको पनि हुनसक्छ।
वास्तु विज्ञान अनुसार घरको मध्यभागमा भर्याङ राख्नु उचित हुँदैन। त्यस्तै घरभित्र बनेको भर्याङ भान्सा कोठा, भण्डार कोठा वा पूजा कोठाबाट सुरू गर्नु हुँदैन।
घरमा एक तलाबाट अर्को तलासम्म भर्याङ निरन्तर हुन्छ। तर, पहिलो तलादेखि तेस्रो, चौथो तला चढ्ने भर्याङ निरन्तर रूपमा बनाउँनु हुँदैन।
भर्याङको अन्त्य र सुरूमा ढोका हुनु पनि शुभ मानिन्छ। भर्याङ बनाइरहँदा ख्याल गर्नुपर्ने अर्को कुरा के भने भर्याङलाई सधै घडीको दिशामा मोड्नुपर्छ। वास्तु विज्ञानमा घडीको विपरित जाने भर्याङ उचित मानिदैन।
घरमा दक्षिण पूर्वतर्फ भर्याङ बनाउन सकिन्छ, जसको मुख पूर्वी दिशामा हुनुपर्छ। उत्तर(पश्चिम जसको मुख पश्चिमतर्फ हुनुपर्छ।
वास्तु शास्त्र अनुसार दाहिने कोणबाट झुकेको बर्ग र आयतकार सिंढी उत्तम मानिन्छ। सिंढी धेरै अग्लो वा ठाडो हुन् हुँदैन। सिंढीमा पाइलाको संख्या विषम अर्थात १५, १७, २१ हुनुपर्छ।
संख्या कहिले पनि शून्यमा पूरा भएको हुनुहुँदैन। अर्थात १०, २० वटा सिंढी बनाउँनु हुँदैन। सिंढी चढ्नलाई सजिलो हुने गरी तयार गर्नुपर्छ। हिँड्दा थाक्ने वा लड्ने जोखिम हुनुहुँदैन। सहज रूपमा पाइला चाल्न सकिने हुनुपर्छ।
सिंढीको उचाइ ४ इन्चदेखि ७.७५ इन्चको हुनुपर्छ। जबकि थ्रेडको लम्बाइ १० देखि ११.२५ मिटरबीच हुनुपर्छ।