काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटोमोबाइल्स व्यवसायीहरूले स्थिर नीतिको आवश्यकता रहेको बताएका छन्। काठमाडौँको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटो शो २०८१ को उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
अध्यक्ष चौधरीले अटोमोबाइल्स व्यवसायीहरू उद्योग क्षेत्रतिर विकास हुँदै गरेको उल्लेख गर्दै सरकारले नीतिगत स्थिरतामा ध्यान दिनुपर्नेमा जोड दिए। उनले भने, “अटोमोबाइल्स व्यवसायीहरूलाई केही चाहिँदैन, केवल नीतिगत स्थिरता आवश्यक छ। अहिले सरकारका नीतिहरूका कारण व्यवसायीहरू ठूलो अन्योलमा छन्, जसले गर्दा अब के होला भन्ने त्राससमेत रहेको छ।”
उनले अटो क्षेत्रलाई प्राथमिकता दिनुपर्ने माग गर्दै भने, “अटो क्षेत्र एकादेशको कथा नहोस्। पाँच हजार व्यवसायीहरू घटेर तीन हजारमा सीमित भएका छन्।” अटोमोबाइल्स क्षेत्र बिलासितामा मात्रै सीमित नरही अहिलेको प्रमुख आवश्यकता बनेको पनि उनले बताए।
अध्यक्ष चौधरीले मौद्रिक नीतिले अटो क्षेत्रलाई समेट्न नसकेको गुनासो गर्दै १० वर्षे स्थिर नीतिको आवश्यकतामा जोड दिए। “हामीलाई नेपालमै बस्नु छ, काम गर्नु छ। त्यसका लागि १० वर्षे परियोजना आवश्यक छ,” उनले भने।
उनका अनुसार व्यवसायीहरू अटो क्षेत्रमा लगानी गर्न तत्पर रहेका छन्, र चार्जिङ स्टेसनहरू थप्ने कार्य पनि अघि बढिरहेका छन्। साथै, उनले सरकारलाई प्रदूषण कम गर्न प्राथमिकता दिन आग्रह गरेका छन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा अटोमोबाइल्स क्षेत्रको कुम्भ मेला मानिने ‘नाडा अटो शो २०८१’ आजबाट सुरु भएको हो। काठमाडौँको भृकुटीमण्डपमा आयोजित यो शो भदौ ११ गतेसम्म चल्नेछ।
#nadashow2024