काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक केदार दाहालसँग भेटघाट गरी वस्तुमा लेवल राख्ने सम्बन्धमा प्रकाशित सूचनाबारे विस्तृत छलफल गरेको छ।
२०८१ साल चैत्र १४ गते विभागले सार्वजनिक गरेको सूचनाका प्रावधानहरूमा अस्पष्टता रहेको भन्दै त्यसको स्पष्टताका लागि अध्यक्ष चौधरीले आग्रह गर्नुभयो। उहाँले सवारीसाधन र स्पेयर पार्ट्समा अधिकतम मूल्यसूचि प्रकाशनका सम्बन्धमा स्पष्ट नीति आवश्यक रहेको धारणा राख्नुभयो।
छलफलमा ब्लकमा आउने गाडीहरूमा अधिकतम मूल्यसूचि लागू गर्ने नलगाउने, मूल्य निर्धारणमा क्यूआर कोडको प्रयोग, स्पेयर पार्ट्समा अनलाइन वा अफलाइन मूल्यसूचि राख्ने ढाँचा, नट–बोल्टजस्ता वस्तुमा मूल्यसूचि कसरी लागू गर्ने लगायतका विषयमा कानुनी र व्यावहारिक स्पष्टता आवश्यक रहेको कुरामा नाडा पक्षले जोड दिएको थियो।
नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले डिजिटल माध्यमबाट मूल्य पारदर्शिता सुनिश्चित गर्न क्यूआर कोडको प्रभावकारी प्रयोग गर्न सकिने सुझाव दिनुभयो। उहाँले यसले अनलाइन प्रणालीलाई व्यवस्थित बनाउने धारणा राख्नुभयो।
वाणिज्य विभागका महानिर्देशक केदार दाहालले भौतिक वस्तुहरूको अधिकतम मूल्यसूचि प्रकाशनको अवधारणा पुरानो भए पनि वर्तमान सन्दर्भमा यसलाई अझ प्रभावकारी बनाउने आवश्यकता रहेको बताउनुभयो। उहाँले क्यूआर कोडको माध्यमबाट मूल्यसूचिलाई डिजिटलरूपमा सार्वजनिक गर्ने प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।
महानिर्देशक दाहालले छलफलको निष्कर्ष स्वरूप सरोकारवालाहरूसँग थप परामर्श गरेर नीतिगत स्पष्टता ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त छलफलमा नाडाका निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्वय दिपेन्द्र मिश्रा, प्रकाश कपुरी, सोहन श्रेष्ठ, मेघराज पौडेल, प्रदीपमान प्रधान तथा आमन्त्रित सदस्य नारायणप्रसाद पौडेलको उपस्थिति रहेको थियो।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar