नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ।  नेपाल माइक्रो इन्सुरेन्स लिमिटेडले बैदेशिक रोजगारीमा रहेका नेपालीलाई गत माघ ८ गतेदेखि बिक्री खुला गरेको आइपीओमा आवेदन दिने  आज (माघ २२ गते) अन्तिम दिन रहेको छ। 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर बैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो।   

यस्तै, ३ प्रतिशत अर्थात, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र अर्को ५ प्रतिशत अर्थात, १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ। 

केयर रेटिङ नेपालले इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ। एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धकको रूपमा रहेको छ। बैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने यो आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

प्रतिक्रिया