काठमाडौँ । एनआइएमबि एस क्यापिटलद्वारा सञ्चालित एनआर्ईबिएल इक्विटी पार्टनर्सले लक्ष्मी स्टील्स लिमिटेडमा लगानी गर्ने सम्झौता गरेको छ । चैत १२, २०८१ मा भएको सम्झौतामा एनआइएमबि एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल र लक्ष्मी स्टील्स लिमिटेडका निर्देशक बिमल कुमार सावरथियाले हस्ताक्षर गरेका छन् ।
यस लगानी साझेदारीले लक्ष्मी स्टील्सको उत्पादन क्षमता अभिवृद्धि गर्न तथा बजार विस्तारलाई तीव्रता दिन महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । नेपालमा स्टील उद्योगको स्तम्भ मानिने लक्ष्मी स्टील्सले यो सहकार्यलाई आफ्नो भविष्यका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।
लक्ष्मी स्टील्स लिमिटेड सौरभ ग्रुपअन्तर्गत सन् २००८ मा स्थापना भएको हो । नवलपरासीको सुनवलमा अवस्थित यस उद्योगले टिएमटी रड, ब्लेड तथा रिब्ड तार उत्पादन गर्दै आइरहेको छ । अत्याधुनिक प्रविधि प्रयोग गर्दै गुणस्तरीय स्टील उत्पादन गर्ने कम्पनीको प्रतिबद्धता रहेको छ ।
एनआर्ईबिएल इक्विटी पार्टनर्सबाट प्राप्त लगानीले लक्ष्मी स्टील्सलाई उत्पादन दक्षता बढाउन, नवीन प्रविधि अपनाउन र बजार विस्तार गर्न महत्वपूर्ण सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
एनआर्ईबिएल इक्विटी पार्टनर्सको प्रमुख उद्देश्य आर्थिक वृद्धिमा योगदान पुर्याउने व्यवसायलाई सहयोग पुर्याउनु रहेको छ । यस विषयमा एनआइएमबि एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवालले भने, "लक्ष्मी स्टील्स लिमिटेडसँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ । यो साझेदारी नेपालको पूर्वाधार विकासलाई बलियो बनाउने दिशामा ठूलो कदम हुनेछ ।"
त्यस्तै, लक्ष्मी स्टील्सका निर्देशक बिमल कुमार सावरथियाले भने, "एनआर्ईबिएल इक्विटी पार्टनर्ससँगको सहकार्यले कम्पनीको क्षमता अभिवृद्धि गर्न, उत्पादन वृद्धि गर्न र नेपालमा स्टील उद्योगको भविष्यलाई थप मजबुत बनाउन मद्दत गर्नेछ ।"
यो साझेदारी नेपालका औद्योगिक क्षेत्रको विकासका लागि महत्वपूर्ण मानिएको छ । वित्तीय सहयोग र उत्पादन क्षमताको संयोजन गर्दै, यसले दीर्घकालीन आर्थिक वृद्धिमा योगदान गर्ने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन् ।